• २०८३ श्रावण १०, आईतवार

डा. रामदयाल राकेशको तरा आत्मकथात्मक उपन्यास लोकार्पण

काठमाडौं, साउन १० ।

प्राज्ञिक व्यक्तित्व, साहित्यकार एवं लेखक डा. रामदयाल राकेशको आत्मकथात्मक उपन्यास ‘तारा’ आज एक कार्यक्रमा लोकार्पण भएको छ ।
छः महिना अघिमात्र दिवङ्गत हुनुभएकी आफ्नी श्रीमती तारादेवीसँगको सहजीवन, उहाँको संघर्ष, शहनशीलता र स्मृतिमा डा. राकेशले सो उपन्यास प्रकाशनमा ल्याउनुभएको हो । काठमाडौंमा आयोजित एक समारोहको बीच डा. राकेशको ८४ औं जन्मदिवसको अवसर पारेर उक्त उपन्यासको लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेश सिंहले भन्नुभयो, ‘संस्मरण शैलीमा आएको डा. दयालको उक्त उपन्यास पत्नी ताराको जीवनगाथाको रूप हो । ताराजी भौतिक रूपमा हामीबीच नरहे पनि दिवङ्गत श्रीमतीको समर्पण, स्मृति र सहयात्राबारे कृति लेखेर उहाँले पत्नीलाई अमरत्व प्रदान गर्नुभएको छ । यस्तो कार्य सबैले गर्न सक्दैनन् ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै डा. तुलसी भट्टराईले भन्नुभयो, ‘डा. राकेशले पत्नीको सम्झनामा आफ्ना भावहरू प्रकट गर्नुभएको उक्त उपन्यासले उहाँ स्वथ्य र चेतन मनःस्थितिमा रहनुभएको संकेत हो ।’ उहाँले भन्नुभयो, डा. राकेशले शोकलाई शक्तिमा बदलेर पत्नी ताराजीको सम्झनामा केही लिपिवद्ध गर्नु महत्वपूर्ण कार्य भएको छ । पुस्तको मर्म र भावलाई सबै पाठकले आत्मसात गर्ने नै छन् । उक्त आत्मकथात्मक उपन्यास सिमल बुक पब्लिकेसनले प्रकाशित गरेको हो ।