कथा
काठमाडौँ ।
गीतकार बाबुराम श्रेष्ठ निरुपमले छैटौं हिमालयन इन्टरनेशनल अवार्ड २०२६ मा सर्वोत्कृष्ट नव आधुनिक गीतकार अवार्ड जितेका छन् । सिन्धुलीका मरिण गाउँपालिका–७का गीतकार श्रेष्ठलाई ‘खोज्दा नि आफूलाई भेटाउन सकिन’ गीतबाट सर्वोत्कृष्ट नव आधुनिक गीतकार अवार्ड प्रदान गरिएको हो ।
“सिक्किमको राभाङ्लास्थित कम्युनिटी हलमा आयोजित कार्यक्रममा निरुपमले आधुनिक गीत “खोज्दा नि आफूलाई भेटाउन सकिन“ को गीतका शब्दले उक्त सम्मान पाएका हुन् । उक्त समारोहमा प्रमुख अतिथिको रुपमा ब्ब्+ सरकारी कन्ट्याक्टर एसोसियसनका भाइस प्रेसिडेन्ट टासी ग्यल्पो भुटिया र प्रमुख संरक्षक, क्षेत्र प्रमुख ०९ बर्फुङ रिक्सल दोर्जी भुटिया थिए ।
साहित्यिक क्षेत्रमा सक्रिय निरुपमको मेहनत, समर्पण साहित्यप्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई यस वर्षको उत्कृष्ट नव आधुनिक गीतकारको उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ । निरुपमको यो उपलब्धिलाई सिन्धुली र नेपालको गीत साहित्यका क्षेत्रका लागि गौरवपूर्ण सफलता मानिएको छ । गीतकार निरुपमको देश स्वप्न (कवितासङ्ग्रह, २०६३) बूढो समय (कवितासङ्ग्रह, २०७९) र कुमारी माया (गीतसङ्ग्रह, २०८२) प्रकाशित छन् । अवार्ड प्राप्त गरेपछि उनलाई शुभेच्छुक, स्थानीयवासी, कलाकार तथा विभिन्न संघसंस्थाबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
