समाचार
काठमाडौं ।
कथा, लघुकथा र समीक्षामा कलम चलाउँदै आएका सर्जक खेमराज पोखरेलको उपन्यास ‘नागफणी’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा कृति लोकार्पण गर्दै प्रमुख अतिथि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यमा प्रयोगका नाममा खेलवाड भइरहेको बताए ।
उनले नेपाली साहित्यमा विकृति विसंगति व्याप्त रहेको उल्लेख गर्दै कृतिको संख्याभन्दा लेखनतत्वले विशेष महत्त्व राख्ने बताए । समीक्षक प्रा. यादवप्रकाश लामिछानेले खेमराजको उपन्यासमा कलमको चातुर्य देखिने बताए । अर्का समीक्षक डा. अनुपमा रेग्मीले कृतिभित्रका कमी कमजोरी बताउँदै उपन्यास पठनीय भएको बताइन् ।
उपन्यासकार पोखरेलले उपन्यास लेखनको रचनागर्भ सुनाए । कार्यक्रममा साहित्यकारहरू पवन आलोक, प्रा. सुनील अधिकारी, ब्रजेश भट्टराई, डा. दीनबन्धु शर्मा र शंकर भारतीले कृतिमाथि आफ्ना धारणा राखे । कार्यक्रम उपन्यास समाजद्वारा आयोजना गरिएको हो ।
