हो
हाम्रो वियोग भएपछि
म कवि भएँ
मसँगसँगै रोए जूनतारा
हिमाल, पहाड, तराई
मौसमी अनि बेमौसमी
घरेलु र जङ्गली फूल
आँसुमा अनूदित भए
पानी बोकेर हिँड्ने
नदीनाला र समुद्र पनि
सबै–सबै चीजले
मेरो विरहको आलाप गाए
प्रियतम !
मन दुखेपछि
जिन्दगी दुख्दोरहेछ
प्रकृति दुख्दोरहेछ
आफ्नै मुटु घाउको
राजधानी बन्दोरहेछ
यही सन्तापले मेरो
अन्तर्आत्मामा घोप्यो
भावना फुटेर असरल्ल छरियो
अनि छरपस्ट तिम्रो
स्मृति बटुलेर
प्रेमको लिपि जोड्दै
अक्षरमा कुँदेँ
र संसारका मनलाई
छापाखाना सम्झिएर
सम्प्रेषित गरिदिएँ
हो
हामी छुट्टिएको बेला
तिमीले गरेका थियौ
मेरो कम्पित छातीमा
कविताको वीजारोपण
अनि म कवि भएँ ।