समाचार
अहिले वदलिएको छ दैनिकी । कसैले ‘रिटायर्ड लाइप पनि भन्छन् यस्तोलाइ । तर मलाइ चैं यसो भनेको अलि मन पर्दैन । “तन बुढो भए पनि मन बुढो हुँदैन” भनेको यै होला । बरु जेजस्तो भए नि ब्यस्त रहनु नै उत्तम । सुखी र स्वस्थ रहनका लागी पनि । ब्यस्त रहँदा वर्तमान मै केन्द्रित हुन्छ यो मन । अनि दायाँ बायाँ कमै सोंचिन्छ । ‘खाली दिमाग त सैतानको घर’ जस्तै हो ।
तर कुरो जति गरेपनि विगतका घटना, ठाउँ, परिवेस र साथीभाइहरु संग नजिकिन र रमाइरहन मनलाग्छ किनकी जागिर मै विते जिवनका उर्जासील बर्षहरु । त्यहि क्रममै धुमफिर । डुलफिर, यात्रा वा भ्रमण गरियो, थुप्रै गाउँपाखा, शहर र वस्तीहरु । पैला पैला त्यस्तै वानी भएर पनि हो की ? अहिले पनि औधी मनलाग्छ धुमफिर गर्न ।
यसैबिच, साथीभाइहरुले उठाइहाले गोरखाजिल्ला तिरका केहि स्थानहरु तर्फ घुम्नजाने कुरा । गोरखा जिल्ला आफैपनि ऐतिहासिक जिल्लाका रुपमा चिनिने भएकाले पनि उतm प्रस्तावलाइ स्विकार नगर्ने कुरै भएन । यस्तै उत्सुकता देखिथ्यो अरुमा पनि । वेला परिस्थिती र धेरैको अनुकुलतालाइ ध्यानमा राखी कार्यक्रम वन्यो, जम्मा जम्मी दुइदिनको । मिती २०८३ साल, जेष्ठ २३ गते गएर २४ नै फर्की हाल्ने गरि । आयोजक थियो कृषि विकास बैंक, पूर्व कर्मचारी समाज, चितवन–नवलपुर । टोलीमा थियौं बत्तिस जना ।
पूर्व निर्धारित कार्यक्रम अनुसार एकाबिहानै भरतपुरमा जम्मा भइयो । भेटघाटको सुरुमा हाय–हलो चल्ने नै भो । तर आजभोली भेटहुँदाका बखत आपसी सञ्चो–विसञ्चो कै वारेमा बढि नै सोधनी पुछनी हुने गर्छ । सबैको पाको उमेर भएकाले पनि होला, सायद । छोरा छोरीहरुका वारेमा भने अलि कम हुन्छ सोधनी पुछनी । सायद धेरैका छोराछोरी हुर्किइ सकेका र तिनिहरु आ–आफ्नै संसारमा रमाउँन थालिसकेकाले पनि त्यसो हुन गएको होला । मेरो अनुमान ।
बिहानको करिव साढे छ बजे नै भरतपुरवाट हिंड्यो हाम्रो टोली । साढेसात बजे पुगियो आवुखैरेनी । त्यहाँवाट हाम्रो बस उत्तरतर्फ मोडीयो । बजार कटिसकेपछि आयो मस्र्याङ्गदीको पुल । पुलमाथीवाटै देखियो मस्र्याङ्गदी नदिको अहिलेको रुप । तर ‘रुप भन्दा पनि विरुप’ पो भन्न थाले साथीहरुले त । सायद पानी विनाको नदी देखेर होला । पुल तरिसके पछि फेरि थपियो अर्काे ‘रनाहट’ । कुनैवेला खुवै नाम कमाएको गोरखकाली रबर उद्योगको ‘दुराअवस्था’ । आजकल हामी धेरैमा हरेक बिषय वस्तुहरुका वारेमा सकारात्मक भन्दा पनि अलि नकारात्मक धारणा बनाउने वानी वस्दै गएको छ । त्यसैले मसला वने भरलरै देखिएका यि एकदुइ कुरा । एकजना साथीले त प्वाक्क थपि पनि हाले ‘पहिलो गासमै ढुङ्गा’ भनेर । तर अर्का एकजनाले सम्हालिंदै थपे ‘नकारात्मकता मात्रै पनि जिवन होइन साथी ।”
अलि पर पुगेपछि भने देखिइन पानीले भरिपूर्ण नदी । झट्ट सम्झिएँ ति पछिल्ला साथीको सकारात्मकता वारेको संदेशपूर्ण वाक्य । उत्तर तर्फवाट आइराखेकी थिइन सप्तगण्डकी कै अर्की शाखानदी दरौदी । विश्वधारा हो यिनको पौराणीक नाम । यहाँवाट थोरै तल पट्टिको रामशाहघाटमा पुगेपछि मस्र्याङ्गदी मै मिसिन्छीन् यीनी पनि । यिनै विश्वधारा कै सेरोफेरो वा मुहान पछ्रयाउँदै हुन लागी रहेको थियो हाम्रो यो घुमफिर वा यात्रा पनि ।
यिनै र यस्तै कुराहरुमा गफीँदै गर्दा बाह्रकिलो भन्नेमा पुगिसकिएछ । यहाँवाट दाहिने वा उत्तर तर्फ लागेमा गोरखा सदमुकाम पुगिन्छ । हामी भने देब्रे अथवा छेपेटार तर्फ सोझियौं । सुन्दर र फराकिलो देखिन्थ्यो छेपेटार । जताततै हरियाली नै हरियाली । अब भने यतैतिरवाट गोरखा–लम्जुङ्ग तिरै पुख्र्यौलि घर भएका साथी (रैथाने) हरुको चुरी–फुरी बढ्न थालिसकेको थियो । नबढोस् पनि किन ? आफु जन्मी हुर्कि खाइ खेलेको ठाउँ तिर पुग्दा । हरेकलाइ यस्तै महशुस भैहाल्छ । त्यसै भनिएको होइन ? ‘जननी जन्म भुमिश्च, स्वर्गादपि गरिएसी’ भनेर । म पनि तिनै रैथाने साथीहरु संग हिमचिम बढाउँन थालें । भ्रमणका क्रममा आउने विभिन्न ठाउँहरुको नाली वेली लिन इच्छा जागेको थियो । त्यसैले ।
सामान्य अर्थमा ‘छेप’ भन्नाले खोला वा नदि किनारमा पाइने एक प्रकारको साग । त्यसैले छेपेको साइनो पानी संग हुन्छ भन्ने आधारहरु छन् । अनि सत्रौं–अठाऔं सताब्दी तिरका पुरातात्तिक अवसेसहरु पनि फेलापरेका भन्ने भनाइ छ । टार र यस वरिपरीका पर्यावरणिय अवस्थाले हाम्रा साथीहरुको मनमस्तिष्कमा एकप्रकारको उमङ्ग पलाइ सकेको थियो । अनि रैथाने साथीकरुका गफहरुले त ‘सुनमा सुगन्ध’ थपेझैं लाग्दथ्यो । गफगाफका क्रममा दरौंदी पुल कटेको पत्तै भएन छ । त्यति वेलै एकजना रैथाने साथीले अलि गर्विलो स्वरमा भन्न थाले – ‘अब हामी लिगलिगकोट तर्फ अगाडी बढ्दै छौं ।’ यात्रा गन्तब्य मध्यको महत्यपूर्ण र पहिलो थलो । हाम्रो बसले अलि स्याँ –स्याँऽ स्याँऽ स्याँऽ गर्न थालिसकेछ । सायद उकालो बाटो सुरु भएर होला । केहि क्षण मै उकालो, ओरालो त्यस्को लगत्तै समथर, घुम्ती, भिर–पाखा, भञ्ज्याङ्ग, खोल्सी अनि गौंडाहरु । यस्तै यस्तै परिवेसहरु संग साइनो नगाँसी सुखै छैन पहाड तिरको यात्रामा । वरु उल्टिको समस्या हुनेहरुले औषधीको इन्तजाम गर्दा अलि सहजता पैदा हुन्छ । हाम्रो टिमका साथीहरुलाइ भने त्यस्तो समस्या भएको जस्तो देखिएन । हिमाल, पहाड र तराइका कुना काप्चाहरुमा ‘खाइ खेलेका’ न ठहरे ।
हर्मि भन्ज्याङ्ग कटे पछि बाटो अलि तेर्सियो । थोरै पर पुगेपछि गुरुजीले बस रोके । र हिंडेरै जान संकेत गरे । हामी बसवाट ओर्लियौं । यतै वरैवाट देखियो हावामा फहराइरहेको नेपालको राष्ट्रिय झण्डा । लिगलिग कोटकैे झण्डा रहेछ त्यो । त्यो सानदार दृश्यले साथीहरुको मन अलि हौस्यायो । दुइ–चारजना साथीभाइ त लामो र उकालो सिंढी पनि एकैछिन्मा चढीवरि झण्डा फहराइ रहेको स्थान सम्मै पुग्न भ्याइ सकेछन् । हामी संग भेट भएपछि उनिहरुले हाँस्दै भने ‘त्यहाँ उनिहरुले बार्षिक रुपमा आयोजन हुँने ‘लिगलिगे दौड’को पूर्वअभ्यास गरेका रे । करिब पन्ध्र मिनट पछि त हामी पनि पुग्न भ्यायौं त्यहाँ । सिंढी चढाइले गर्दा स्याँ स्याँ स्याँ स्याँले लखतरान काया लिएर । तर फहराइरहेको झण्डामुनि पुगेर उभिँदा शरिर यति छिट्टै वौरीए छ कि ? आफैलाइ अचन्म लाग्यो । समुन्द्र सतहवाट करिब १४३७ मिटरको उचाइमा अवस्थित छ लिगलिग कोट ।
हामी भन्दा पहिल्यै पुगेका साथीहरु रमाउन थालीसकेका थिए । र गाउँदै थिए राष्ट्रिय गान । ‘सयौं थुङ्गा फुलका हामी ………..।’ त्यस लगत्तै धेरैका मुखारविन्दुवाट फुर्न थाले अन्य लोकप्रिय राष्ट्रिय गितहरु पनि । ठिक्कैले होइन, तर जोडतोडले र आ–आफ्नै पाराले । एकै क्षण त गुजाएमान जस्तै भयो लिगलिगे डाँडो पनि । म भन्दा पछाडी पट्टीका साथीहरुको मुखवाट फु¥यो अर्को एउटा गित पनि ः ‘टाढैवाट चिनियो ढाका टोपी लाउनेलाइ, ……………।’ सायद, उनिहरुको संकेत मैले लगायको ढाकाटोपी तर्फ थियो क्यार ? यो प्रसंगले हासोको फोहोरा छुट्यो, हामी केहि साथीहरुका विचमा । दृश्यावलोकन, फोटोसेसन र ख्यालठट्टा वा हाँसोमजाकमा ब्यस्त देखिन्थे अन्य केहि साथीहरु । वास्तवमा यस्तै यस्तै हाँसी–मजाकले पनि सुनमा सुगन्ध थप्छन्, घुमफिरका बेला । तर छोटो समयमा धेरै काम गर्नुपर्दाको जस्तो भ्याइ –नभ्याइ वा हतारो पनि देखिंदै थियो त्यहाँ ।
विश्वकै परिवेसवाट हेर्दा पनि अलि अलग्गै खालको देखिन्छ, नेपालको राष्ट्रिय झण्डा । एकताका, यो झण्डा लाइ पनि फेर्नु पर्छ भन्ने वहस पनि नचलेको होइन । ‘कुनै कुनै कुरा त अलि लहडमा पनि उठ्ने गर्छन, नेपालमा ।’ मेरो मनले त्यहाँ यस्तो पनि चिताउन भ्यायो । सायद अलि भावुक पनि भैएछ क्यार ? जेहोस् मानविय संवेदना संग जोडीएका बिषयहरु हुन, राष्ट्र–राष्ट्रियता भन्ने कुरा अन्य प्राणीहरुका हकमा के हुन्छ ? त्यो वेग्लै कुरा भो । अर्को मनले फेरि सोच्यो । लिगलिगकोट वरिपरी र त्यस ठाउँवाट देखिने अन्य क्षेत्रहरुका वारेमा जानकारी लिन निक्कै उत्सुक थिएँ म । त्यसैले एकजना रैथाने साथीलाइ पच्क्षाएँ । उन्ले मेरो मनसाय वुझिहाले र उन्कै नजिक पुग्न इसारा गरे । र त्यहाँ रहेको ढुङ्गे पर्खाल माथी चढ्यौं हामी दुवै जना । हातको चोरी औंलाको इसारामा त्यस वरिपरीका विभिन्न ठाउँहरु देखाउन–चिनाउन कस्सिए उनि ।
“उ त्यो पूर्व पट्टिको सिद्धिखोला । अझ उतै पूर्व पट्टि पर्छ गोरखा बजार । त्यहाँवाट दक्षिण तर्फ पर्छ, मनकामना मन्दिर । यता नजिकैका हर्मि भन्ज्याङ्ग, खोप्लाङ्ग लगायत । त्यसैको उत्तर तर्फ पर्छ आँपपिपल अस्पताल । उ त्यो दक्षिण पट्टि अलि परको छिम्केश्वरी डाँडो । यता तल नजिकैका लुईटेल स्कुल, ठाँटी पोखरी लगायत । अनि उ तल्लो भेक भएर जान्छ, मध्यपहाडी लोकनार्ग । बुफ्नु भो दाइ ? (हामी दुइले एक अर्कालाइ दाइ–भाइ भनेर सम्वोधन गर्नेे पुरानै चलन) “यति भनिसकेपछि उन्को अनुहार अलि उज्यालो र गर्विलो देखियो । यता मेरो मनको उत्सुक्ता भने अझै बढ्दै थियो । त्यसैले मौकामा–चौका हानीहालें र भने, “अब यता र उता (पस्चिम र उत्तर) तर्फ देखिने स्थानहरु पनि चिनाउनुस् न त भाइ ।”
फेरि पनि कस्सिइ हाले उनि । र वताउन थाले “अब यता पस्चिम तर्फ हेर्नुस्, त्यो सम्म परेको ठाउँमा छ पालुङ्गटार एयरपोर्ट, त्यो वट्डाँडा र अलिपर पानी टल्किए जस्तै देखिने मस्र्याँङदी नदी । अलि पर रिमरिम जस्तो देखियो वन्दिपुर । तुरतुरे, वेसीशहर, पाउँदी, तिनपिप्ले लगायत पनि देखीए यहाँवाट ।’ वास्तवमा, उनि दखाउँदै र भन्दै गए, म हेर्दै र सुन्दै गएँ । कति संम्झँन सकियो ? सकिएन ?? त्यो अलि वेग्लै कुरा भो तर मगनमस्त चै मज्जाले । यसैविच, हाम्री नजिकै उभिएका अर्का साथीलाइ पनि जिस्क्याएँ मैले । अनि उन्को पहाड (जन्म घर) का वारेमा पनि सोध्न भ्याएँ । उनि पनि कस्सिइहाले, वेलिविस्तार लाउन ।
‘यता पूर्वोउत्तरवाट पस्चिम तर्फ वग्छिन चेपे नदि । पौराणिक नाम चाँही चम्पावती हो यिन्को । र द्रब्य शाह की आमाले आफ्ना छोरा राजा (नरहरी र द्रब्य शाह) हरुको सिमा विवाद मिलाउन आफ्नै दुध यिनै चेपेमा वगाएको इतिहास पनि छ । गोरखा र लमजुङ्ग जिल्लाको सिमाना भएर बग्दछिन चेपे । तिनैको पारीपट्टीको किनारको उ त्यो फाँटैमा पर्छ अल्काटार (मेरो घर) । त्यो उतापट्टिको राइनासटार र त्यो अग्लो राइनासकोट, मैलेपनि मनै अघाउन्जेल र धित मरुन्जेल निक्कै वेर सम्मै हेरिरहें ति सवै ठाउँहरु । वरिपरीका वन जंगल, हरियाली डाँडापाखा र प्राकृतिक सुन्दरताले भरिएका दृश्यहरु । उत्तरपट्टि अलि टाढाका हिमाली श्रृङखलाहरु समेत ।
अनि यतिखेरै मनमनै आफु आफैलाइ प्रश्न गरें ः ‘मान्छेहरु, यतिका राम्रा ठाउँ–वस्तीहरु छाडेर शहर, मधेष, विदेश तर्फ किन पलायन भैराखेका होलान् हँ ?’
तर फेरी आफ्नै इतिहासलाइ सम्झीएँ र झस्किएँ पनि । किनकी, म पनि पहाड (उतिवेलाको पश्चिम चार नंबर) तिर जन्मे, हुर्केँ । अनि त्यसपछि मधेष तर्फ भासीए कै त हुँ ।
अनि एउटा मार्मिक गित सम्झिउँ पनि ।
‘काँ को जन्म, काँ हुन्छ मरण ? छैन ठेगान ।
करिब एक घण्टा वितेको पत्तै भएन छ । सायद त्यतै हराइएछ क्या र ? भावुकतालाइ जति तन्काउँन पनि मिन्छ ?? भनेको यस्तै भएर हो ।
यसैविच, ‘खास ( एैतिहासीक लिगलिग कोट त उ त्यो माथीको पो हो । अर्का उकजना साथीले भन्न भ्याए । अहो ! हामी खास लिगलिगकोट त अझै पुगेकै रहेनछौं, अब परेन फसाद ।
यता बसका गुरुजी ले घुम्नका लागी दिएको समय सिद्धि सक्या थ्यो । त्यसैले स्याँ स्याँ रऽऽयाँऽऽयाँ गर्दै हान्नियौं त्यै कोट तर्फ । ‘थोरै समयमा धेरैठाउँ घुम्ने आकांक्षा लिए पछि यस्तै दौडादौड हुन्छ ।’ संगै हिड्दै गरेका अर्का साथी फुसफुसाए ।
पुनरोत्थानको काम भइरहेको रहेछ कोटमा । ईटा जडानका लागी दुइथरि मसला तयार हुँदै थ्यो त्यहाँ । हाम्रो जिज्ञासा मेटाउँन त्यहि काम गर्दै गरेका एकजना मिस्त्री भाइले भनेः ‘यो भत्तmपुरे र्सूिर्क चुनको मसला । त्यो चाँही सिमन्टीको ।’
त्यसै नजिकै टाँगिएको थियो एउटा फल्यास वोड । वोडमा छापीएका थिए दुइटा फोटाहरु पनि । द्रब्यशाहको फोटोको तलपट्टि लेखिएको थियोः
‘लिगलिग कोटका पहिलो शाह राजा’ । त्यसैगरी दलसुर घलेको तलपट्टि
‘लिगलिगकोटका मगर राजा ।’
यहिँ नेरै भेटिए एकजना स्थानिय । उन्को नामरहेछ कमल राना । यि दुवै राजाहरुका इतिहासका वारेमा मेरो जिज्ञासामा उन्को संक्षिप्त जवाफ थियो ः
‘इतिहासलाइ एकातर्फि हिसाबले मात्र पढेर पुग्दैन, दाइ …।’
अलि अधुरो लाग्ने उन्को जवाफले म अलि अक्मकिएँ । अनि मनमनै सोंचे,
‘देखेका ( रचेका) र लेखेका (बचेका) इतिहास पनि फरक फरक हुन्छन् भन्थे । सायद यस्तै भएर होला ?’
उता हाम्रो बसले पटक पटक हर्न बजाउन थाल्यो । सायद ढिला भएको भन्ने संकेत थियो त्यो । त्यसैले यो प्रसंगका वारेमा स्थानिय कमल रानाका थप कुराहरु ढुक्क संग सुन्ने फुर्सद पनि थिएन म संग । तर कोटको इतिहासका वारेमा मेरो मनमा भने अनेक दुविधाहरु उब्जिन थाले ……..।
हामी हतार–हतारमा हाम्रो बस रोकिएको स्थानतर्फ फर्किंदै थियौं । यता फर्कँदै गर्दा हामी मध्यकै एकजना साथीले मुखमा रुखको पात राखेर बजाउँन थाले । धेरैको ध्याउन्न त्यतै मोडीयो । सबैले त्यै वोलको गित गाउन थाले ः
‘माया हौ, पात बजाउँदै झरे है ओराली, मै बस्छु सम्झि झल्झली,
यसैविच, म चुपचाप संग हिंडेको देखे पछि एकजना साथीले म तर्फ संकेत गर्दै प्वाक्क बोलेँ ः
‘दाइ यस्तो रमाइलो माहौलमा मा पनि तपाइ किन चुपचाप ?
उन्को कुराले म झस्कीएँ । अनि नेपाली इतिहासका एकजना मुर्धन्य ब्यतित्व श्री नयनराज पंतले इतिहासप्रति ब्यङ्ग गर्दै भनेको एउटा वाक्य सम्झिएँ ।
उनले एकठाउँमा लेखेका छन् ः इतिहास त जस्ले लेख्छ, त्यसैको हुन्छ ।
मनमनै महशुस पनि गरें– ‘हो त इतिहास त जस्ले लेख्छ, त्यसैको पो हुन्छ ।
हामी सबैजना बस चढ्यौ । बस अगाडी बढ्न थाल्यो ।
अब पछाडी पट्टिका सिट तिरवाट गुञ्जिन थाल्यो ः ‘पानको पात …………….। मस्र्याङ्गदी सलल । फेरि अर्काले थोरै सच्याएर गाए –
‘दरौदी सलल ………।’
अब यै गितको तालमा नाच्न थाले केहि साथीहरु,
कम्मर मर्काइ–मर्काइ ।
अव मेरो मनमा पनि एउटा अर्को विचार पलायो ः आखिर, घुमफिर, यात्रा गर्नुको मुख्य ध्यय रमाइलोको लागी पनि त हो ???
अनि इतिहास वारेको मेरो चिन्तन पनि त्यै रमाइलै तिर मिसीयो ।
‘मस्र्याङ्गी–दरौदी सलल …….।’
(गैंडाकोट, नवलपुर । २०८३ आषाढ )