• २०८१ माघ २ बुधबार

देश-परदेश

राजेश ढुंगाना

राजेश ढुंगाना

हिंड्दा,
हिंड्नु अघि
संघार बाहिर निस्कने बित्तिकै
आँखाबाट
एउटा थोपो आँसु खसेर
उसको पाइतालाले
कुल्चिएको चिसो टाटो
अझै सुकेको छैन

दिनहरु बिते
बर्षहरु बिते
र, थुप्रै
दशक एवम्
केही शताब्दी नै बित्यो
उसले घर छाड्दा
संघारमा खसाएर टेकेको
आँसुको थोपाको चिसो टाटो
मलाई थाहा छैन-
केवल
उसको पीडा मात्र हो कि
मेरी आमाको
सदैव दुखिरहने
र कहिल्यै निको नहुने
दीर्घ रोगको औडाहा पनि हो……….

दुख्छ उसलाई हर क्षण
विपन्न हँुदा मात्र दुख्ने होइन रहेछ
सम्पन्न हुँदा पनि दुख्ने रहेछ
हो, आमाको न्यानो काखको
कुनै अर्काे
विकल्प
नहुँदो रहेछ !

फेरि पनि
तपाइ परदेशमा बसेर रुनोस्
म तपाइको आँसुमा
देशमा बसेर आँखाभरि
रुन्छु !

निरन्तर …………….


राजेश ढुंगाना