• २०८३ असार २६, शुक्रबार

पनेरुद्वारा लिखित चारुसङ्ग्रह ‘शून्य अनुराग’ सार्वजनिक

काठमाडौं ।

हामी र हाम्रो कृति समाजको आयोजनामा साहित्यकार दीपक पनेरुद्वारा लिखित छन्द चारुसङ्ग्रह ‘शून्य अनुराग’ सार्वजनिक गरिएको छ। समाजका अध्यक्ष मदन प्रसाद नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए, भने कलानिधि दाहाल, विजयध्वज थापा, डा. देवी पन्थी, सुनिल अधिकारी, हरिभक्त सिग्देल ‘महेश’, अमृता रसाइली ‘रामदाम’ र लक्ष्मण रायमाझी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन पूर्णबहादुर श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले विमोचित कृतिको समीक्षा गर्दै ‘शून्य अनुराग’ नेपाली साहित्यमा लोकलयमा आधारित चारुसङ्ग्रहका रूपमा विशिष्ट पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरे। उनीहरूले कृतिकार दीपक पनेरुलाई बधाई तथा सफल साहित्यिक यात्राको शुभकामना पनि दिए । समीक्षकको भूमिका निर्वाह गर्दै डा. देवी पन्थीले ‘शून्य अनुराग’ लोकलयमा प्रकाशित पहिलो चारुसङ्ग्रह भएको उल्लेख गर्दै सङ्ग्रहमा समेटिएका चारुहरू गहन भाव, मिठास र कलात्मक प्रस्तुतिले भरिपूर्ण रहेको बताए । उनका अनुसार यस कृतिले पाठकको मन छुने विश्वास गर्न सकिन्छ ।

कृतिकार दीपक पनेरुले कृति प्रकाशनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै विमोचन समारोह सफल बनाउन उपस्थित सम्पूर्ण साहित्यकारप्रति आभार व्यक्त गरे । कार्यक्रममा करिब ७० जना साहित्यकारको सहभागिता रहेको थियो। उपस्थित साहित्यकारमध्ये मानन्धर अभागी, राजेन्द्रकुमार बज्राचार्य, अरुण खड्का, प्रमोद भट्टराई ‘प्रतिक’, नम्रता उप्रेती, सुभद्रा अधिकारी, इन्दिरा रेग्मी, अमृता रसाइली ‘रामदाम’, कल्पना मरासिनी र बद्री उप्रेतीले नवप्रकाशित कृतिबाट चारु वाचन गरेका थिए । समापनका क्रममा सभाध्यक्ष मदन प्रसाद नेपालले ‘शून्य अनुराग’ नेपाली साहित्यका लागि उदाहरणीय कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै कृतिकार दीपक पनेरुलाई बधाई तथा शुभकामना दिए ।