• २०८३ असार २२, सोमबार

नेपालभाषाको बाखंदबूको नयाँ अङ्क विमोचित

काठमाडौँ ।

नेपालभाषा कथा विधाको विकास र प्रवद्र्धनको लागि संस्थागत रूपमा सक्रिय भई लागिपरेको संस्था बाखंदबूले नियमित रूपमा प्रकाशन गर्दै आइरहेको बाखंदबूको १३ औँ अङ्क काठमाडौँको न्ह्योखास्थित कन्या मन्दिर स्कूलको सभाहलमा एक समारोह बीच लोकार्पण गरीयो । सोहि कार्यक्रममा कथाभित्रको सैद्धान्तिक चर्चा र अन्तरक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपप्राध्यापक राजिव बहादुर श्रेष्ठले कथा लेखन गर्दा यसको सैद्धान्तिक पक्षलाई अंगाल्न जोड दिनु हुँदै कथा लेखनमा कलाको प्रयोगले ठूलो भूमिका खेल्ने बताउनुभयो । त्यसैगरी उपप्राध्यापक एवं साहित्यकार शरद कसाःले आफ्ना भावनात्मक अभिव्यक्तिलाई साहित्य लेखनमा उतारेर सैद्धान्तिक विषयलाई पनि समेटेर आफ्नो लेखनकार्यलाई क्रमिक सुधार गरेर गएमा अझ सुन्दर बन्ने बताउनुभयो ।

कार्यक्रमको सभाध्यक्षको आसनबाट बाखँदबूको ५ जना संरक्षक मध्येकी एक, साहित्यकार लोचनतारा तुलाधरले बाखँदबूभित्र रहेका कथाहरू मध्ये ५ वटा कथाहरूबारे चर्चा गर्नुहुँदै कथा लेखनको प्रारम्भिक चरण सिकाइबाट आफूलाई क्रमशः परिमार्जित गर्दै कुशल कथाकार बन्न सकिने भएकोले कसैले पनि हिनताबोध गरिरहनु पर्ने आवश्यक नभएको बताउनुभयो । त्यसैगरी उपसभाध्यक्ष डा. रीना तुलाधर बनियाले बाखँदबूभित्रका कथाहरूमध्ये ५ वटा कथाहरूको समीक्षा गर्नुहुँदै कथा लेखन गर्दा पात्र परिचय झल्किने खालको, विवरण कम तर विषयवस्तु प्रभावकारी रहेको कथाहरूले पाठकको मन छुने बताउनुभयो ।

बाखँदबूका व्यवस्थापन मध्येकी एक, साहित्यकार दिव्या ताम्राकारको सहजिकरणमा सञ्चालित उक्त कार्यक्रमका अतिथिलगायत सहभागी सम्पूर्णलाई साहित्यकार बद्री वेदनाले कृतज्ञता ज्ञापन गर्नुहुँदै बाखंदबूको यात्रा निरन्तर जारी रहने बताउनुभयो । सोही दिनको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै कथाकार मचाकाजी महर्जन, सविता महर्जनलगायतले बाखंदबूको सफलताको कामना गर्नुभयो । उक्त कार्यक्रममा बाखंदबूभित्र रहेका ४८ वटा कथाहरूको भाषा सम्पादन गरी महत्वपूर्ण भूमिका निभाउनु हुने पौभाः सायमि र आवरण चित्रको लागि महत्वपूर्ण योगदान गर्नुहुने रीता मानन्धरलाई बाखंदबू संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।