• २०८३ असार २२, सोमबार

राजेन्द्र सुवेदी स्मृति पुरस्कार चूडामणि बन्धु र शकुन्तला शर्मा गुरुङलाई

काठमाडौं ।

राजेन्द्र सुवेदी स्मृति समाजले वि.सं. २०८२ सालको ‘राजेन्द्र सुवेदी स्मृति साहित्य पुरस्कार’ समालोचक प्रा.डा. चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको समालोचना, भाषाविज्ञान, अनुसन्धान तथा लोकसाहित्यका क्षेत्रमा बन्धुले पु¥याउनुभएको योगदानको कदरस्वरूप उहाँलाई पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ । त्यसैगरी, वि.सं. २०८२ सालकै ‘राजेन्द्र सुवेदी स्मृति कला पुरस्कार’ अभिनेत्री शकुन्तला शर्मा गुरुङलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनयमार्फत उहाँले पु¥याउनुभएको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गर्न लागिएको हो । समाजका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा बसेको बैठकले दुवै पुरस्कारको निर्णय गरेको हो ।

स्वर्गीय राजेन्द्र सुवेदीको जन्मजयन्तीका अवसर पारेर आगामी साउन महिनामा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिनेछ । दुवै पुरस्कारको राशि जनही २२ हजार २ सय २२ रुपैयाँ रहेको छ ।