• २०८१ श्रावाण ११ शुक्रबार

लालबन्दीनगर वाङ्मय परिषद्द्वारा छनौट दश कृतिहरू सार्वजनिक

सर्लाही, लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार (२०७९) का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ ।
भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।

स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा वर्णानुक्रमानुसार अग्नि ( डा. नवराज लम्साल), उज्यालो कर्णाली (प्रतीक ढकाल), तेल भिसा (सुरेन्द्र अस्तफल), तृषा ( सुशीला पौडेल), देखेको देश (मोहन मैनाली), प्रिय मौनता ( डा. नेत्र एटम), भ्रूण प्रश्न (टीका आत्रेय), मरीचिका (महेश थापा), यादको सन्दुक (दिपा मेवाहाङ राई) याम्वुनेर ( बिनाथिङ) कृतिहरू छनोटमा परेको उक्त विज्ञप्तिमा उल्लेख छ ।
वाङ्मय परिषद्लाई प्राप्त १२८ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरू मध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ ।

सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० कृतिहरू मध्येबाट पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९ प्रदान गरिने उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त पुरस्कारको राशि ५०,००० हजार रहेको छ ।