• २०८३ असार १४, आईतवार

एक चिम्टी विष

गोविन्द सुबेदी

गोविन्द सुबेदी

एक चिम्टी विषले
जीवनको अन्त्य गर्न सक्छ,
तर जीवनलाई बचाइराख्न
दिनहुँ संघर्षका घुट्का पिउनुपर्छ ।

एक चिम्टी विष
मृत्युलाई निम्त्याउन पर्याप्त हुन्छ,
तर बाँच्नका लागि
पीडा, अभाव, अपमान र आशाका
असंख्य प्याला रित्याउनुपर्छ ।

मर्न सजिलो छ,
एक क्षणको निर्णयले पुग्छ;
तर बाँच्नु भनेको
हरेक बिहान नयाँ साहस बटुल्नु हो,
हरेक साँझ थकानसँग सम्झौता गर्नु हो ।

जीवन त त्यही यात्राको नाम हो,
जहाँ विषभन्दा तितो यथार्थ पनि
मुस्कानमा घोलेर पिउनुपर्छ,
र आँधीबीच पनि
उज्यालोको विश्वास बोकेर हिँड्नुपर्छ ।

किनकि,
मृत्युका लागि एक चिम्टी विष काफी हुन्छ,
तर जीवनका लागि
धैर्य, संघर्ष र आशाका
अगणित घुट्का पिउनुपर्छ ।


२०८३-०३-०१ गैंडाकोट–२, नवलपरासी