• २०८३ असार १४, आईतवार

कठै ! ती दिन

 चेतन काफ्ले

चेतन काफ्ले

झोला थिएन,
किताब थिए ।
चप्पलका तुना छिन्दा
पोलेर टास्न सकिने
ठाउँ–ठाउँमा पसल थिए ।

बाटो वन–बुट्यानमा,
मौसम अनुसारका-
फलफूल थिए ।

नुहाउन,पौडी खेल्न
निःशुल्क,खोला–नाला थिए ।

अध्यारो छल्न,
गच्छे अनुसार
बरेसो,टुकी,पानस,लालटेन थिए ।

घडी थिएन ।
कुखुराको भाले र
घामको छायाँ उपलब्ध थियो ।

असार थियो ।
मंसिर थियो ।
गुठी पर्म,
ऐँचो–पैँचो थियो ।
असारे र रोदी थिए ।

दशै तिहार-
साउने,माघे सङ्क्रान्ति
चाड थिए ।
घर रंगाउन–
रातोमाटो,कमेरो निःशुल्क थिए ।

गट्टी,डण्डीबियो,गुच्चा,
कपडाले मोरेको भकुण्डो
खेल्ने साथी–संगी थिए ।

मागहरु थिए-
दायित्व थिएन ।
अभावको पूर्ति गर्न
सुरक्षा कवच-
आमाको न्यानो काख थियो ।

धन कम र
भकारी खुम्चिएका भएतापनि
मनहरु फराकिला थिए ।

अपूर्णतामै पूर्णता थियो ।
अभावमै भाव थियो ।

माटोको गन्ध र
प्रकृतिसँगको सामीप्य
अगाध ममता र सुगन्ध थियो ।


चेतन काफ्ले
हालः न्युजर्सी, अमेरिका ।