समाचार
झापा ।
ममतामयी आमाको निधनपछिको पैँतालिस दिनको तिथिकै दिन साहिँलो छोरा डा. खगेन्द्रप्रसाद दाहालद्वारा लेखिएको शोककाव्य ‘आमा’को आमा रहनुभएकै स्थान चुथाई, सिमलचोकको घरमा लोकार्पण गरियो । जेठो छोरा पर्शुराम दाहालको अध्यक्षतामा र वरिष्ठ साहित्यकार होम सुवेदीको प्रमुख आतिथ्य, चौरानब्बे बर्सीय आदरणीय साहित्यिक व्यक्तित्व पं. नारायण भट्टराई, प्रलेस कोशी प्रदेश तथा साहित्यकला सङ्गम दमकका अध्यक्ष बिन्दु दाहाल मूकदर्शक, तेराख प्रतिष्ठानका अध्यक्ष शिवहरि पौडेल, साहित्य चौतारी बिर्तामोडका अध्यक्ष÷संरक्षक सङ्गीतकार देवीभक्त श्रेष्ठ, लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरे, त्रिफला पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी लगायतका सम्माननीय व्यक्तित्वहरूको विशेष आतिथ्य रहेको थियो ।
झापाका धेरै साहित्यिक संस्थाहरूका प्रतिनिधिहरू, वरिष्ठ साहित्यकारहरूको विशाल विद्वत् समारोह, परिवारजन र छरछिमेकका बिच विमोचन सम्पन्न भएको हो । कृतिको सूक्ष्म समीक्षा चर्चित समीक्षक भीम दाहाल र वरिष्ठ कविवर हरिप्रसाद रिमालले गर्नुभएको थियो । उपस्थित सम्पूर्ण विद्वत् वर्ग, छरछिमेकी र बन्धुवान्धवलाई स्वागत पूज्य आमाकी साहिँली बुहारी भगवती कोइराला दाहालले गर्नुभएको थियो । विमोचित कृतिबाट थुप्रै स्रष्टा र कविहरूले केही केही पद्यहरू लय हाली वाचन गरिरहँदा पूरै घरपरिसर देवस्थलजस्तो भान भइरहेको थियो ।
प्रमुख अतिथि र विशेष अतिथिहरूको सारगर्भित मन्तव्य पछि कृतिकारबाट आफ्ना भावनासहित धन्यवाद ज्ञापन मायाँको चिनो प्रदान र अध्यक्षबाट सभा विसर्जन गरिएको थियो । यो भव्य कार्यक्रमको सञ्चालन कुशल कार्यक्रम सञ्चालिका तथा साहित्यकार खगिन्द्रा खुसीले गर्नुभएको थियो । निमन्त्रणालाई विशेष महत्त्व दिई आफ्ना योजनालाई पर सारेर यति माथि गाउँमा नै आइदिई अपार हौसला प्रदान गर्नु हुनेप्रति कृतिकारले पद्यमय आभार ज्ञापन गनुर्भएको थियो ।
