• २०८३ असार ७, आईतवार

प्रकाश सपुत र अञ्जली अधिकारीको ‘फूल जस्तै पँयालै’ सार्वजनिक

काठमाडौँ ।

चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली अधिकारी पुनः एकसाथ दर्शकमाझ आएका छन्। लोकदोहोरी गीत ’फूल जस्तै पँयालै’ को भिडिओमा यी दुईले सहकार्य गरेका हुन् । ’बोलमाया’, ’गलबन्दी’, ’अरेली काँडैले’ लगायतका थुप्रै हिट गीतमा सहकार्य गरेका प्रकाश र अञ्जली लामो समयपछि एकसाथ देखिएका हुन् । यो डान्सिङ लोकदोहोरी गीत हो। गीतमा गायक खेम सेन्चुरी र गायिका रञ्जिता विश्वकर्माको स्वर छ भने शब्द विक्रमबाबु विश्वकर्माका हुन्। एचबीएन किस्मतको एरेन्ज रहेको गीतमा संगीत असिम चन्द्र विश्वकर्माले दिएका हुन् ।

भिडिओमा प्रकाश र अञ्जलीसँगै एकिन्द्र सारा शंकरको समेत अभिनय देख्न सकिन्छ । भिडिओको निर्देशन तथा कोरियोग्राफीसमेत एकिन्द्र सारा शंकरले गरेका हुन्। छायांकन नवराज उप्रेतीको छ भने सम्पादन असिम चन्द्र विश्वकर्माको छ । गीतको औपचारिक विमोचन लोकसञ्चारकर्मी नेपालको उपत्यका समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा गरिएको थियो। कार्यक्रममा खेम सेन्चुरी, रञ्जिता विश्वकर्मा, शिव हमाललगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सार्वजनिक ’फूल जस्तै पँयालै’ गीत गायिका रञ्जिता विश्वकर्माको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ ।