समाचार
काठमाडौँ ।
बसन्त थापा र देवी घर्ती मगरको स्वर रहेको यो गीतलाई कमल शिशिरले प्रस्तुत गरेका हुन् । समसामयिक राजनीतिक विषय, कविता, मुक्तक र गजलमा कलम चलाउँदै आएका शिशिर ‘लाल्टिन बालेर’ मार्फत गीत लेखनमा पनि प्रवेश गरेका हुन् । गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा नन्दु परियारले संगीत भरेका छन्। दिनेश पराजुलीको समूहले निर्माण गरेको म्युजिक भिडिओमा शेखर घर्ती मगर र रचना न्यौपाने फिचर्ड छन् ।
भिडिओको छायांकन पनि दिनेश पराजुलीको समूहले गरेको हो भने सम्पादन सुजन कोइरालाले गरेका हुन्। भिडिओको कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीको हो । गीतकार शिशिरका अनुसार गीतमार्फत गण्डकी र धौलागिरि क्षेत्रमा बसोबास गर्ने गुरूङ र मगर समुदायको जीवनशैलीलाई प्रस्तुत गरिएको छ । रोधीमार्फत जोडिने प्रेम सम्बन्ध र रैथाने लोकलयको संरक्षण गर्ने उद्देश्यले गीत तयार गरिएको उनले बताए ।
‘जतिबेला ग्रामीण क्षेत्रमा विद्युतीकरण भएको थिएन, त्यतिबेला हामीले दैनिक जीवनमा अँध्यारो हटाउन लाल्टिन, टुकी, सल्लाको दियालो र राँको वा मसाल बालेर काम चलाउँथ्यौं। गण्डकी र धौलागिरि क्षेत्रमा बसोबास गर्ने गुरूङ र मगर समुदायमा दिनभरको मेलापात सकेपछि साँझ रोधी बस्ने चलन थियो। त्यही परिवेशलाई आधार बनाएर मैले गीत लेखेको हुँ,’ गीतकार शिशिरले भने ।
उनले गीतप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको पनि बताए। गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटका शिशिरले यसअघि गजल, कविता, मुक्तक लगायतका विधामा लेखन गर्दै आएका थिए। उनले राजनीतिक तथा समसामयिक विषयमा अखबार र अनलाइनमा लेख लेख्दै आएका थिए। गीत लेखन आफ्नो नयाँ प्रयास भएको उनले बताए ।
