• २०८३ असार ३, बुधबार

मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ विमोचित

कीर्तिपुर ।

राजनीतिक दलका नेताहरूले मोहनचन्द्र अधिकारीको जीवन नेपाली राजनीतिको प्रेरणादायी पाटो भएको बताएका छन् । ‘नेपाली नेल्सन मण्डेला’ का उपनामले परिचित वरिष्ठ नेता मोहनचन्द्र अधिकारीको जीवनीमा आधारित पुस्तक ‘जगेडा जीवन’ सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा नेताहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोहन चन्द्रको पुस्तक ७७ वर्षे कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण दस्तावेज भएको बताए । पूर्वप्रधानमन्त्री माधव नेपालले पुस्तकमा मोहनचन्द्र अधिकारीका थुप्रै पाटो उजागर गर्न बाँकी रहेको बताउँदै त्यसका लागि काम गर्न मोहनचन्द्र अधिकारी प्रतिष्ठानलाई अनुरोध गरे । “एक पटक मोहनचन्द्र अधिकारीले झापा आन्दोलनको समीक्षा गरेर भन्ने र केपी ओलीले लेख्ने गरेको डायरी थियो, त्यो कता गयो खोज्नु पर्छ”, उनले भने । उनका पुराना सहकर्मी पूर्वमन्त्री राधाकृष्ण मैनालीले मोहनचन्द्र झापा आन्दोलनको सुरुदेखि नै उमेर, योग्यता, जोसका हिसाबले समेत प्रेरणादायी रहेको बताए ।

झापा आन्दोलनका नेता सिपी मैनालीले ५५ वर्षअघि मोहनचन्द्र अधिकारीको जोसिलो नेतृत्वको परिणामस्वरूप आजको जनअधिकार प्राप्त भएको बताए । विमोचित पुस्तकमा अधिकारीले सञ्चारकर्मीसँग आफ्नो राजनीतिक जीवनबारे ‘टेप रेकर्ड’मा बोलेको विषयलाई उतारिएको उल्लेख गरिएको थियो । विक्रम संवत् १९९४ मा जन्मिएका अधिकारी आफ्नो काका मनमोहन अधिकारीदेखि मावलतर्फका बिपी कोइरालासम्मको सामीप्य फलस्वरूप राजनीतिमा लागेका थिए । सुरुमै कम्युनिष्ट राजनीतिप्रति आकर्षित उनले २०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । राजनीतिक जीवनमा पहिलो पटक २०१५ सालमै जेल परेका उनले पटक पटक गरी १० वटा जेलमा १७ वर्ष बिताएका थिए ।

पुस्तक र अधिकारीको जीवनबारे बोल्दै एमाले नेता युवराज ज्ञवालीले मोहनचन्द्र अध्यात्म र भौतिकवाद समन्वय हुनुपर्छ भन्ने र गीताको राम्रो अध्ययन गरेका कम्युनिष्ट भएको बताए । वि.सं २०४६ मा रिहा भएका मोहनचन्द्रलाई आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहले त्रिचन्द्र क्याम्पसमा भएको एक कार्यक्रममा ‘नेपालको नेल्सन मण्डेला’को सङ्ज्ञा दिएका थिए । लगत्तै भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरले दिल्लीको जवाहरलाल नेहेरु विश्वविद्यालयमा ‘एसियाको नेल्सन मण्डेला’ भनेपछि उनी नेपालको नेल्सन मण्डेलाको नामले चिनिन थालेका थिए । २०५९ सालको एमाले महाधिवेशनमा चिनियाँ क्रान्ति शैलीको नीति हुनुपर्ने विचार लिएका मोहनचन्द्र २०५० देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य रहेका थिए ।

वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले मोहनचन्द्रको सङ्घर्षबारे नयाँ पुस्तालाई थाहा दिनुपर्ने बताए । पूर्वगृहमन्त्री रमेश लेखकले एउटा पुस्ताको कठोर सङ्घर्षबाट अहिलेको लोकतन्त्र आएको हो भन्ने कुरा बुझाउनका लागि मोहनचन्द्र जस्ता नेताको जीवनी भएका पुस्तक आउनु सकारात्मक भएको बताए । नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा नभएकाले कम्युनिष्ट आन्दोलनले सोचेको सफलता नपाएको बताए ।