• २०८३ जेष्ठ ३१, आईतवार

राजेश ढुंगानाको ‘मुटु फलाम भएर’ कविताकृति लोकार्पित

काठमाडौंँ ।

झापामा बसेर साहित्य सिर्जनामा समर्पित कवि तथा पत्रकार राजेश ढुंगानाको तेस्रो कविताकृति ‘मुटु फलाम भएर’ लोकार्पण गरिएको छ । शनिबार (जेठ ३०) काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले कृति सार्वजनिक गर्दै कवि ढुंगाना नेपालको प्रजातान्त्रिक आन्दोलनका एक प्रखर योद्धा भएको बताए ।

घिमिरेले उनको पत्रकारिता र काव्यकारिताको चर्चा गरे । आजभन्दा तीन दशकअघि नै राजेशले लेखेका टिप्पणी आफूले पढ्दै आएको उनले स्मरण गरे । साहित्यकार कृष्ण धरावासीले कवि ढुंगाना निडर र प्रजातान्त्रिक आन्दोलनमा समर्पित एक कर्मठ सर्जक भएको उल्लेख गरे । उनले ढुंगाना तत्कालीन समयमा सधैँ प्रशासनको नजरमा पर्दै आएको पनि बताए । धरावासीले कवि ढुंगाना झुक्नुभन्दा भाँचिन तयार हुने व्यक्ति भएको उल्लेख गरे ।

प्रा. डा. लक्ष्मणप्रसाद गौतमले कृतिमाथि समीक्षात्मक टिप्पणी राखे । उनले कवि ढुंगानाका कविता वेदका मन्त्रजस्ता रहेको चर्चा गरे । उनले कविले आफ्ना कवितामा मितव्ययी शब्दमा गहिरा र गम्भीर भाव अभिव्यक्त गरेको बताए । नेपाल स्रष्टा समाले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, कवि ढुंगाना, कविपत्नी मीना ढुंगाना, पवन आलोक, तारा सुवेदी, मधु पाठकलगायतले बोलेका थिए । कार्यक्रममा कृतिभित्रबाट केही कविता वाचन गरिएको थियो ।