• २०८३ जेष्ठ २९, शुक्रबार

पर्यावरणीय चेतनासम्बन्धी गीत ‘धर्तीको गीत–२’ सार्वजनिक

काठमाडौं ।

विश्व वातावरण दिवसको अवसरमा पर्यावरणीय चेतनासम्बन्धी गीत ‘धर्तीको गीत–२’ सार्वजनिक गरिएको छ । खेम प्रसाईँ र देवेन्द्र पौडेलको रचनामा तयार गरिएको उक्त गीत नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘पर्यावरणीय साहित्य विमर्श’ कार्यक्रममा शुक्रबार सार्वजनिक गरिएको हो । पर्यावरण संरक्षण तथा सामाजिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको गीतमा सङ्गीतकार महेश खड्काको सङ्गीत रहेको छ भने मुख्य स्वर आयुषा न्यौपानेले दिनुभएको छ ।

यसअघि २०८१ सालमा खेम प्रसाईँ र देवेन्द्र पौडेलकै रचनामा ‘धर्तीको गीत’ को पहिलो संस्करण सार्वजनिक गरिएको थियो। उक्त गीतमा महेश खड्काको सङ्गीत तथा दीपक लिम्बू र रोजिना बस्नेतको स्वर रहेको थियो ।
सर्जकहरूले जल, जङ्गल, जीवजन्तु र प्राकृतिक सम्पदाको संरक्षणमार्फत पृथ्वीको अस्तित्व जोगाउने सन्देश गीतमार्फत प्रवाह गरिएको बताएका छन् । पर्यावरणीय चेतना र पृथ्वी संरक्षणको विषयलाई केन्द्रमा राखेर तयार गरिएको गीतले समाजमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ ।