कविता
सुनसरी ।
मोरङको उत्तरी पहाडी क्षेत्रस्थित पर्यटकीय गन्तव्य मिक्लाजुङमा आयोजित काव्य उत्सवमा स्थानीय बासिन्दा तीन घण्टासम्म कविताको रसास्वादनमा मग्न हुनुभएको थियो । ‘पर्यटनसँगै साहित्य’ नारासहित मिक्लाजुङ साहित्य समाज, मोरङको आयोजनामा सम्पन्न ‘मिक्लाजुङ काव्य उत्सव–२०८३’ मा कोशी प्रदेश तथा प्रदेशबाहिरका करिब ६० जना कविले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । काव्य उत्सवको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले आयामेली कवि बैरागी काइँलाको चर्चित कविता ‘माया र मफलर’ वाचन गरेर गर्नुभएको थियो । त्यसपछि कवि सीमा आभासले ‘चक्रवर्ती महाराजप्रति’ शीर्षकको कविता प्रस्तुत गर्दै कवितावाचन सत्रको शुरुआत गर्नुभएको थियो ।
उत्सवमा कवि भूपिन, निमेष निखिल, बिना थिङ, मुनाराज शेर्मा, सुन्दर कुरुप, शुभलक्ष्मी लम्साल, सुमित्रा वाङ्देल चेली, प्रकाश बुढाथोकी, देवान किराती, सुदीप पाख्रिन, हेमन यात्री, सबिता फागो, नरेश काङ्माङ राई, चन्द्र गुरुङ, विनेश राई मिन्जाई, अमित थेबे, पराजित पोमु, टोलीप्रसाद राजवंशीलगायतका कविहरूले कविता वाचन गर्नुभएको थियो । त्यसैगरी विवश बलिभद्र, भूपेन्द्र तिम्सिना, कृष्ण काश्यप, अभागी थेगुवा, सेलिङ केसी, रुमानी कुलुङ, जेबी निखुन्त, अनीश राई, विराट किराती, केपी घिमिरे, युवराज ठकुरी, सुमन राई, राजकुमार सुब्बा, राज भट्टराई, निहाङ किराती, साङ्सेन पन्धाक, अबीलाल राई, प्रवेग हाङ्स्रोङ, दीपा मगराँती र किरण सिवाललगायतले पनि आफ्ना कविता सुनाउनुभएको थियो ।
चितवनबाट सहभागी कवि भूपिनले कार्यक्रमको प्रशंसा गर्दै यति धेरै कविलाई एकै स्थानमा समेटेर सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्नु आयोजकका लागि चुनौतीपूर्ण भए पनि कार्यक्रम अत्यन्त प्रभावकारी बनेको प्रतिक्रिया दिनुभयो । मिक्लाजुङ–१ रमितेखोलास्थित ‘न्यु रमिते स्काई भ्यु’ मा आयोजित कार्यक्रममा गाउँपालिका प्रवक्ता पर्वत राईले साहित्य र पर्यटनबीचको सम्बन्धलाई जोड्दै कविहरूका सिर्जनामार्फत मिक्लाजुङको पहिचान अझ फैलिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम समापनपछि गाउँपालिका अध्यक्ष बबिकुमार राईले आफ्नै क्षेत्रमा यति ठूलो साहित्यिक कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आगामी आर्थिक वर्षमा विशेष बजेट विनियोजन गरी बृहत् साहित्य तथा पर्यटन महोत्सव आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो । मिक्लाजुङ गाउँपालिका तथा विभिन्न शुभेच्छुकहरूको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्र घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कवि गगन योक्पाङ्देनले सहजीकरण गर्नुभएको थियो ।
