• २०८३ जेष्ठ २५, सोमबार

खुशीराम डौलियाद्वारा लिखित २० वटा कृति एकैसाथ लोकार्पण

काठमाडौँ ।

लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित १८ सहित २० वटा कृति एकै पटक विमोचन गरिएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न विधाका २० वटा कृति एकै पटक विमोचन गरिएको हो । कार्यक्रममा डौलियाका १८ र अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी) का एक-एक कृति गरी कुल २० वटा पुस्तक सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएका कृतिहरूमा कविता, कथा, नियात्रा, उपन्यास र जीवनीलगायत रहेका छन् । साहित्यकार डौलियाका विमोचन गरिएका कृतिमा सुगन्ध (कथा सङ्ग्रह), हलेसीदेखि मुक्तिनाथ (यात्रा संस्मरण), बाध्यता (सामाजिक उपन्यास), बस्तीभित्रका हस्तीहरू (संक्षिप्त जीवनी), पर्खालभित्र (कविता सङ्ग्रह), अन्तरमनका आवाज धुन (कविता सङ्ग्रह), जीवनको परिभाषा (कविता सङ्ग्रह) रहेका छन् । यस्तै, अन्त्यहीन यात्रा, प्रशान्तका छाल, अन्तिम सङ्कल्प, बाटो भुलेको यात्री, मौन आकाश, अस्तित्व, उज्यालोको खोजी, रित्तो सहर, उपहार, सम्बन्ध र जलेको मन (कविता सङ्ग्रह) रहेका छन् । यसैगरी, अनन्तविजय डौलियाको बालसाहित्य दोस्ती र विष्णु गुरुङ (प्यासी) को कवितासंग्रह बन पाखाका फूलहरू रहेका छन् ।

कृतिहरूको संयुक्त राष्ट्रसङ्घका पूर्वराजदूत प्राध्यापक डा.जयराज आचार्य लगायतले विमोचन गरे । पुस्तक विमोचन कार्यक्रममा बोल्दै साहित्यकार डौलियाले विभिन्न विधाका कृतिहरूमार्फत नेपाली समाज र संस्कृतिको चित्रण गरिएको बताए । उनले आफूले लेखेका कृतिहरूको सङ्ख्या २९ पुगे पनि साहित्य क्षेत्रमा सिक्ने क्रम जारी नै रहेको बताए । उनले आफूलाई लेखनको यात्रामा सहयोग गर्ने सबैप्रति धन्यावाद ज्ञापन गरे ।

रुविना रानाका अनुसार यस ’महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान’ कार्यक्रममा कविहरू गोविन्दबहादुर खड्का, राजेशमान केसी, तारा केसी, विभरा किराती, कैलाशकुमार मल्ल, रविन्द्रकुमार थापा, शेखर आचार्य, नारायण सिलवाल, बिर्खे अञ्जान, वसन्त ओली वसन्ती, माधव विडारी चेतनपथ, सुनिता चौलागाईं, विकास केसी, सञ्जय सोती, लक्ष्मी दास महर्जन, चन्दा सुनार, चन्द्रलाल तामाङ,लीलाराज दाहाल, बसुन्धरा चौहान ,नानीराम बस्नेत,रोमा लम्साल, एकता केसी, रमेश बलामी,आवेश मिश्र,भद्रध्वज गौतम र त्रिपुरा पौडेल आदि स्रष्टाहरूले कविता लगायतका रचना वाचन गरेका थिए ।

यसैगरी बाँसुरीवादक मातृकाप्रसाद सङ्गौलाले नाकले बाँसुरीधुन प्रस्तुत गरेका थिए। समाजका संस्थापक सदस्य तथा महालक्ष्मी-९ का पूर्व अध्यक्ष बासु गौतमले संस्थाको परिचयसहित कविता वाचन र संस्थाका सदस्य विष्णु थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका सभाध्यक्ष तथा महालक्ष्मी साहित्य समाज, ललितपुरका अध्यक्ष विनोद खत्री ’आकाश’ ले गजल वाचन गरेर कार्यक्रमको समापन र उद्घोषण संस्थाका उपाध्यक्ष जुमन किरणले गरेका थिए। महालक्ष्मी साहित्य उत्सवमा विभिन्न जिल्लाका स्रष्टाहरूको उपस्थिति रह्यो ।