समाचार
तिमीलाई अस्तित्व दिन
आफ्नै अस्तित्वलाई तिलाञ्जली दिँदै
मुस्कुराएकी म,
तिम्रो लागि सयौं पीडाहरू मनभित्र राखी
जिउने प्रयास गरेकी म,
तिमीलाई थर दिन
आफ्नै थरबाट टाढिएकी म,
तिमीलाई घर दिन
आफ्नै बासस्थानबाट
संस्कारको नाममा त्यागिएकी म,
कर्तव्यका चाङहरू
एकमाथि अर्को थपिँदै गर्दा,
“ऐया“ भन्न नपाएर पनि
पुनः पाइला चाल्न आँट गर्ने म,
जिम्मेवारीका गह्रौँ भारीहरू
उमेरको परिपक्वताभन्दा पहिले
बोक्न लगाउने नियतिको बज्र सहँदा पनि,
तिमीलाई हेर्दै मुस्कुराउन कोसिस गर्ने म,
आफ्नैका निम्ति पराई,
पराईका निम्ति एकोहोरो दोषी
साबित हुनुपरेर पनि
मुस्कुराउन साहस गर्ने म,
सानै थिएँ,
कलिला हातहरूले तिमीलाई
बोकिरहँदा थाकेर पनि
पालो नपाएकी म,
पाउनुपर्नेहरूबाटै
एक मुठी तातोपानी
र स्नेहको एक थोपा नपाएर पनि,
तिमीलाई हेर्दै
स्वर्णिम युगको कल्पना गर्ने म,
गाउँमा रुनका लागि पनि
बारीको कान्ला, धारो, खेत
वा जंगल हुने गर्छ,
तर क्रूर सहरको भीडमा
स्कुटीमा तिमीलाई बोक्दै
प्राइभेट जागिरमा
हाँसेरै पुग्न आँट गर्ने म !!
मैले तिमीलाई भेट्न
आफ्नैहरूका माझ
आफ्नो अस्तित्व मेटाउनुपरेको
क्रूर समय थियो त्यो,
जहाँ तिमी रुँदा
र मलाई ज्वरोले थलिँदा,
उज्यालोमा पनि
कुनै मान्छे देख्न नपाएकी म,
वर्षामा निर्थुक्क भिजेर पनि
तिमीलाई बोक्दै
अफिस र घर दौडिने म,
प्रिय छोरी,
स्वार्थको भीडले
शक्तिशालीको मात्र दुःख देख्छ,
आफ्नैको छायासम्म देख्न नपाई
तिमीलाई हुर्काउँदै गर्दाका कष्टमा,
कहिले अगाडिबाट,
कहिले पछाडिबाट प्रहार गर्नेहरू,
आफ्नो वा पराई जस्तै
दुष्ट स्वभावकाहरूबाट समेत
पिल्सिएकी म,
तिमी ठूलो भएर
पाइला दरिलो हुँदा पनि
खोक्रो मायाजालमा नपर्नू,
बस,
आफ्नो कर्तव्य मात्र पूरा गर्नू !!
किनकि संघर्षशील महिलाको सामु
आएर विनम्रता नदेखाउनेहरू,
मलाई उपेक्षा गर्नेहरू
तिम्रा आफन्त बन्न सक्दैनन् ।
बस, दया गर्नू ।
वर्षाको पानी र चस्माभित्र
आँसु लुकाएर
म तुफान चिर्दै
तिमीसम्म आइपुग्दा,
हजारौँ सम्बन्धका पर्खालहरू
मनबाट एक्कासि
भत्किएका समेत थिए ।
वाचा गर्छु,
स्वयंको खुसीका लागि
तिम्रो आत्माको शीतलता
कहिल्यै खलबलिन दिनेछैन म ।
बस,
जागरुक र अब्बल बनी
आफ्नो आत्माको पूजा गर,
संसारले त
निरीहको पूजामा पनि
खोट देख्दोरहेछ।
लैङ्गिक प्रहार गर्ने
संकुचित मानसिकताबाट, छोरी,
तिमीलाई मैले
धेरै अदृश्य प्रहारहरूबाट
जोगाउन खोजेँ।
शून्यबाट आफ्नो जीवन बनाउन पर्दा
घरमै तिमीलाई लिएर
बसिरहन सकिनँ।
म दौडिएँ,
एउटा घरको सारा दायित्वसँगै
आफ्नो अस्तित्व खोज्न
घरको द्वारबाहिर निस्किएँ।
ईश्वरको कृपाले,
तिमीलाई मुटुभन्दा धेरै माया गर्ने बाबा
अनि मेरो संघर्ष नै
हाम्रो अस्तित्व स्वीकार नगर्ने
त्यो क्रूर समयका निम्ति
दीप बन्यो !!
हाम्रो उत्कर्षको पीडा,
धैर्यता, तिम्रो हुर्काइ,
बासस्थानको चटारो,
आफ्नै जीवन खोज्ने
कहालीलाग्दो समयबीच,
तिमी हाम्रो अञ्जुलीमा फक्रिन
सफल भयौ।
बस,
अब सुवासित फूल बनेर
संसारका निम्ति
मधुरता छर्न सफल होऊ,
यही छ कामना ।।
सुशिला शर्मा “शिलु“