हिन्दी कविता
काठमाडौँ–
शब्दमिडिया प्रा.लि साहित्यपोस्टबाट प्रकाशित कल्पना खरेलको ‘नन्दनी’ गीति सङ्ग्रह २०८२ को ‘जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार’को मनोनयनमा परेको छ । खरेलको ‘नन्दनी’ संगै ध्रुव खनालको ‘मनको आँखा’ र डा. ज्ञानेन्द्र गदालको ‘भोलिको आश उज्यालो’ मनोनयनमा परेको हो । यीमध्ये उत्कृष्ट हुने कृतिले नगद ५७ हजार रुपैयाँ प्राप्त गर्नेछ । नन्दनी शब्दमिडिया प्रा.लि साहित्यपोस्टको एप माफर्त पढन सकिनेछ ।
गीतकार सङ्घ नेपालले २०८२ सालका लागि प्रदान गरिने सबै सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ । सङ्घको जेठ १३ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार उक्त सम्मान तथा पुरस्कारहरू २०८३ साल भदौ महिनामा काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने जनाइएको छ । घोषणाअनुसार ‘अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान’बाट अग्रज गीतकार नीर शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिनेछ । त्यसैगरी डायस्पोरा गीतकार सम्मानबाट बेलायतमा रहेर नेपाली गीत लेखनमा योगदान पु¥याउँदै आउनुभएको नीलम आङबुहाङ राईलाई नगद १५ हजारसहित सम्मान गरिनेछ ।
‘विष्णु–मन्सरा घले मातृभाषा गीतकार सम्मान’बाट लोहोरुङ राई भाषाका गीतकार नाईन्द्र लोहोरुङलाई नगद २५ हजार २ सय ५२ रुपैयाँसहित सम्मान गरिनेछ भने गीति क्षेत्रमा पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै हिमालय टाइम्स दैनिकका उप–सम्पादक कृष्ण भूषाललाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने सङ्घले जनाएको छ । त्यस्तै, सङ्घमा आवद्ध सदस्यहरूबाट २०८२ सालमा दर्ता भएका गीतहरूमध्ये उत्कृष्ट १० गीत छनोट गरिएको छ । ती गीतहरूबाट एक उत्कृष्ट गीतलाई ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’अन्तर्गत नगद ५७ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान’बाट पुरुषतर्फ अरुण तिवारी र महिलातर्फ शुसिला पौडेललाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिने जनाइएको छ ।
सङ्घका महासचिव टिका राईले जारी गरेको विज्ञप्तिअनुसार यी सम्मान तथा पुरस्कारहरूले नेपाली गीत–साहित्यको विकास र स्रष्टाको योगदानलाई उच्च कदर गर्ने अपेक्षा गरिएको छ ।
