अमेरिकी कविता
पूर्वी नेपालको भूगोल, संस्कृति, प्रेम र पहिचानलाई संगीतमा उतारिएको लोक आधुनिक गीत ‘भोजपुर खोटाङ ’ सार्वजनिक भएको छ । कोशी धरान गीतलाई युट्युब डट कम युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा पूर्वी नेपालको भोजपुर, खोटाङ, उदयपुर, इलाम, ताप्लेजुङ, पाँचथर, धनकुटा, सङ्खुवासभा, मोरङ, झापा, सोलुखुम्बु लगायतका ठाउँहरूको नामलाई प्रेमभावसँग जोडेर प्रस्तुत गरिएको छ। ‘कोशी धरान हजुर कोशी धरान, ज्यान तिम्रै मायामा अल्झ्यो परान’ बोलको थेगोले गीतलाई थप कर्णप्रिय बनाएको छ।
गीतकार टेक तामाङको शब्दलाई बबिना भट्टराई र संजय तुम्रोकको स्वरले जीवन्तता तुल्याएको छ । संगीत अशोक राईको रहेको गीतले पूर्वेली भेगको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र प्रेमिल भावना एकसाथ समेट्ने प्रयास गरेको देखिन्छ । म्युजिक भिडियोमा सुरज तामाङ र बिना राउतको अभिनय छ। भिडियो निर्देशन अभिषेक वाग्ले “अबिले गरेका हुन् । भिडियोमा पूर्वी नेपालको जीवनशैली, रहनसहन र प्रेमिल परिवेश आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
गीतमा ‘अरुण र तमोर’, ‘कोशी त्रिवेणी’, ‘चतरा धाम’, ‘पाथिभरा’, ‘हलेसी’ जस्ता धार्मिक तथा प्राकृतिक चिनारीहरू समेटिएकाले यसले पूर्वेली दर्शक–श्रोतामाझ विशेष अपनत्व जगाउने अपेक्षा गरिएको छ । लोकस्वाद, आधुनिक प्रस्तुति र पूर्वी नेपालको भूगोलसँग जोडिएको भावनात्मक कथ्यका कारण ‘कोशी धरान’ अहिले सामाजिक सञ्जालमा समेत चर्चा बटुल्न थालेको छ ।
