• २०८३ जेष्ठ २०, बुधबार

डा. विन्दु पौडेल वस्तीका लघुकथासंग्रह ‘प्रतिविम्ब’ लोकार्पण

लघुकथाकार डा. विन्दु पौडेल वस्तीको लघुकथासंग्रह ‘प्रतिविम्ब’ को लोकार्पण भएको छ । नवलपुरमा कृतिकारका सासूआमा हरिमाया वस्तीको अध्यक्षता तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । मञ्चासिन व्यक्तित्वहरू अध्यक्ष वस्ती, प्रमुख अतिथि अधिकारी लगायत डा. कृष्णसगर पौडेल, डा. एकनारायण पौड्याल, बाबुराम पाण्डे, सरोज दवाडी, ओमकुमार श्रेष्ठ र टोकबहादुर सुनामी मगरले कृतिको सामूहिक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा कृतिका प्रकाशक ठाकुरप्रसाद वस्तीले उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेका थिए । साहित्यकार तथा समालोचक प्राध्यापक डा. एक नारायण पौड्यालले लोकार्पित कृति प्रकाशन भएकोमा प्रशंसा व्यक्त गर्दै आवश्यक सुधारका लागि सुझाव समेत प्रदान गरेका थिए । ज्ञानोदय मावि प्रसौनीका व्यवस्थापन समिति अध्यक्ष बाबुराम पाण्डेले प्रतिविम्ब लघुकथाकृति प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै शुभकामना प्रस्तुत गरेका थिए ।

लेखकीय मन्तव्यको क्रममा डा. पौडेलले पारिवारिक अवस्थादेखि लघुकथा लेखनसम्मको यात्राका सम्बन्धमा निजी अनुभूति समेत साझा गरेकी थिइन् ।
लिला महतोले संचालन गरेको उक्त विमोचन कार्यक्रममा स्थानीय विद्यालयका प्रमुख अध्यापकहरू, साहित्यकारहरू, आफन्तजन, साथीभाइ र शुभेच्छुकहरूको उपस्थिति थियो ।