समाचार
काठमाडौं ।
‘तृषित मन’ हाइकु/सेन्युसंग्रह लोकार्पण भएको छ । काठमाडौंका ६६ वर्षीय प्रदीप केसी (सञ्जेल)ले ‘तृषित मन’ हाइकु/सेन्युसंग्रह प्रकाशनमा ल्याउनु भएको हो । उहाँले हाइकु र सेन्यु गरी ९५८ वटा रचनालाई आफ्नो कृति ‘तृषित मन’मा समेट्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य, वरिष्ठ समालोचक तथा कवि डा.मधुसूदन गिरीले ‘तृषित मन’ हाइकु/सेन्युसंग्रहको लोकार्पण गर्दै हाइकु र सेन्युलाई बौद्धिक जडताभन्दा पनि सरल र सहज किसिमले रचना गर्न जोड दिनुभयो ।
हाइकु रचना प्रकृतिलाई हेर्ने जीवन दर्शन भएकाले यसमा नेपाली मौलिकता, माटो र समाजको सुगन्ध आउनुपर्ने विचार व्यक्त गर्दै प्रदीप केसीका हाइकु र सेन्युमा समाजको विविधता आउनुभनेको तृषित मनको महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो । विशेष, नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञसभा सदस्य, नेपाल हाइकु संघका केन्द्रीय अध्यक्ष तथा ‘तृषित मन’ हाइकु÷सेन्युसंग्रहका भूमिकाकार चेतनाथ धमलाले लघुतम हाइकु र सेन्युको संरचना र सिर्जनशीलता बारे प्रष्ट पार्दै हाइकुकार प्रदीप केसीको रचनाधर्मिता बारे प्रकाश पार्नुभयो ।
अतिथि त्रय नेपालभाषाका हाइकुकवि तथा सःदबू साहित्य ललितपुरका संयोजक सुधीर ख्वबी, प्रलेसका केन्द्रीय पार्षद सिर्जना सरोवर र पूर्वबिगेडियर जनरल रामचन्द्र खत्रीले कृतिगत शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा ‘तृषित मन’ हाइकु/सेन्युसंग्रहका स्रष्टा प्रदीप केसीले आफूले प्रकृति र धार्मिक सांस्कृतिक पक्षलाई आत्मसात् गर्दै तिनको सिर्जना गरेको बताउनुभयो ।
केसी शुभेच्छुकहरूबाट सम्मानितसमेत हुनुभयो । उक्त संग्रहका प्रकाशक, मानव अधिकार तथा एकल महिला समूहका केन्द्रीय सदस्य प्रतिभा विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । स्वयम्भू कारखानाचोकमा रहेको क्वालिटी दरबार रेस्टुरेन्टमा ऐरावती प्रकाशनले कार्यक्रमको आयोजना गरेको थियो । प्रकाशनका अध्यक्ष तथा कवि रामदेव पाण्डेले आकर्षक ढंगबाट कार्यक्रमको सञ्चालन गर्नुभयो ।
