समाचार
काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठानले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा साहित्य, संस्कृति र समाजसेवामा योगदान पु¥याउने साधकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जयराज आचार्यले ‘दायित्व वाङ्मय विशिष्ट सम्मान’ साहित्यकार पवन आलोक र डा. रामप्रसाद दाहाललाई प्रदान गरे । त्यस्तै ‘दायित्व वाङ्मय सम्मान’ प्रा. माधव घिमिरे र नारायण ज्ञवालीलाई प्रदान गरियो ।
कार्यक्रममा ‘विद्वच्छिरोमणि हेमराज पुरस्कार’ नगद राशि २५ हजारसहित प्रा. नीलमणि ढुंगानालाई, ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ १५ हजार नगद राशिसहित निबन्धकार माधव काफ्लेलाई, ‘दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार’ नगद राशि २० हजारसहित निःसहाय सेवा सदनलाई, ‘दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार’ नगद राशि १५ हजारसहित २०८२ र २०८३का लागि क्रमशः सरस्वती चौलागाई र गार्गी चौलागाईलाई प्रदान गरियो । उक्त अवसरमा ‘दायित्व सीता पन्त स्रष्टा पुरस्कार’ नगद राशि १५ हजारसहित कवि निर्मलरमण पराजुलीलाई प्रदान गरियो ।
उक्तअवसरमा कृष्णप्रसाद बस्यालको कविताकृति ‘समयका झिल्का’, केशवराज पन्तको यात्रासंस्मरण ‘कैलासदेखि सागरसम्म’ र कविताकृति ‘भावनाका झिल्का’सहित दायित्व साहित्यिक पत्रिकाको पूर्णाङ्क १५८ समेत लोकार्पण गरिएको थियो ।
