• २०८३ जेष्ठ १४, बिहीबार

बद्री दाहालको कविता सङ्ग्रह ‘क्षितिज पारीको आँगन’ विमोचन

अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसर पारेर कवि बद्री दाहालको कविता सङ्ग्रह ‘क्षितिज पारीको आँगन’ विमोचन गरिएको छ । अमेरिकाको कोलोराडोमा सम्पन्न सम्मेलनमा अनेसासका पदाधिकारी तथा सदस्यहरूले आ–आफ्ना रचना वाचन गर्नुका साथै भजन–कीर्तन र विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्नुभएको थियो ।

साहित्यकार नवराज लम्साल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षता रहेको थियो । सो अवसरमा बोल्दै लम्सालले कवि दाहालका कृतिमा गहिरो संवेदना, कविताप्रतिको तृष्णा र समयसापेक्ष चेतना प्रकट भएको उल्लेख गर्नुभयो ।अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले दाहाललाई सक्रिय र ऊर्जाशील स्रष्टाका रूपमा चित्रण गर्दै उहाँका गद्य, पद्य र गजल सबै विधामा सशक्त उपस्थिति रहेको बताउनुभयो । उहाँले दाहालको वाचन शैलीले श्रोतालाई मन्त्रमुग्ध बनाउने उल्लेख गर्नुभयो ।

कवि तथा गीतकार लालगोपाल सुवेदीले दाहाल नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय सर्जक भएको बताउँदै उहाँका कृतिमा देशप्रेम, युद्धप्रति असहमति, मानवीय संवेदनशीलता र प्रेमका विविध आयाम प्रस्तुत भएको बताउनुभयो । ‘क्षितिज पारीको आँगन’ दाहालको पहिलो कविता तथा गजल सङ्ग्रह हो । केन्टकी राज्यको लुइसभिलमा बसोबास गर्दै आउनुभएको दाहालले व्यस्त प्रवासी जीवनका बाबजुद साहित्य सिर्जनालाई निरन्तरता दिनुभएको छ । सम्मेलनमा नेपाल तथा विभिन्न देशबाट आउनुभएको करिब दुई सयभन्दा बढी साहित्यकार, लेखक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो ।