• २०८३ जेष्ठ ११, सोमबार

लघुकाव्य संग्रह ‘दाङ महिमा’ सार्वजनिक

दाङ ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति शिवहरि मरहट्टाले लेखेको लघुकाव्य संग्रह ‘दाङ महिमा’ सार्वजनिक भएको छ । राप्ती साहित्य परिषद् र सर्वोदय पुस्तकालयले आइतबार घोराहीमा एक कार्यक्रम आयोजना गरी पुस्तक लोकार्पण गरेका हुन् ।

दाङका अग्रज पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माले पुस्तक विमोचन गरेका थिए । शर्माले पुस्तक विमोचन गर्दै पुस्तकले संस्कृत शिक्षाका साथै दाङको महिमाको चर्चा गरेको बताए ।

पुस्तकको समीक्षा केशव सुवेदी र किशोरचन्द्र गौतमले गरेका थिए । मरहट्टा संस्कृत विश्वविद्यालयमा दुईपटक उपकुलपति भएका थिए । विश्वविद्यालयमा कार्यरत रहँदा उनले दाङका ऐतिहासिक, सांस्कृतिक महत्त्वका विभिन्न पक्षका साथै संस्कृत शिक्षाको गरिमाबारे लेखेर पुस्तक तयार पारेका थिए । पुस्तकमा विश्वविद्यालयका पूर्वकुलसचिव जगतप्रसाद उपाध्यायले समीक्षात्मक टिप्पणी लेखेका छन् ।