• २०८३ जेष्ठ ९, शनिबार

विष्णुभक्त राई ‘विभरा किराती’को कवितासङ्ग्रह ‘आदिम फूल’ विमोचन

काठमाडौँ ।

गीतकार तथा कवि विष्णुभक्त राई ‘विभरा किराती’को कविता –सङ्ग्रह ‘आदिम फूल’ विमोचन भएको खबर छ । टिकाथली, ललितपुरमा आयोजित एक कार्यक्रमका बिच प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यमा सो सङ्ग्रह औपचारिक रूपमा विमोचन भएको हो । प्राध्यापक डा. गौतमले साहित्यकार विभरा किरातीका कविताहरू चित्रात्मक र सङ्केतात्मक रहेको बताउनुभयो। ’आदिम फूलझ कविता सङ्ग्रहले कवि किरातीलाई एउटा नयाँ उचाइमा पुर्याएको र आगामी दिनमा उनले कविता लेखनलाई निरन्तरता दिनुपर्ने भनी डा. गौतमले आग्रह गर्नुभयो ।

अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएकी खोटाङ्ग बुइपाकी अप्सरा दालोमा विष्टले प्रकाशनमा सहयोग गर्नुभएको हो। साहित्यकार विभरा किरातीका कविताहरू आफ्नो जीवनका भोगाइहरुसँग मेल खाने किसिमका भएकाले सङ्ग्रहित गर्न सहयोग गरेको प्रकाशक विष्टले बताउनुभयो । कविता सङ्ग्रह ’आदिम फूलझमा समालोचक डा. हेम भण्डारीको १६ पृष्ठ लामो समालोचना रहेको छ । आदिवासी पहिचान, सामाजिक पर्यावरण, शासकवर्गीय प्रभुत्व, राजनीतिक कुसङ्केतन, स्वाधीनता चेत, सांस्कृतिक प्रतिरोधलाई कविता विश्लेषणको आधारका रूपमा चयन गरिएको समालोचक भण्डारीले प्रकाश पार्नुभयो ।

त्यसैगरी अर्का समालोचक डा. सुरेश हाचेकालीले कवि र प्रकाशित कविता सङ्ग्रहमाथि मन्तव्य व्यक्त गर्नुभएको थियो। किरातीको कविता सङ्ग्रह ’आदिम फूलझले सांस्कृतिक पहिचान स्थापित गर्न ठूलो भूमिका निर्वाह गर्ने कुरा समालोचक हाचेकालीले बताउनुभयो । किरातीको यो चौथो कृतिको हो। यस अघि ’सुनको फूलझ गीत सङ्ग्रह (२०५९), ’ताराहरूको बस्तीमाझ कविता सङ्ग्रह (२०६१) र ’त्रिवेणीझ गीति एल्बम (२०६६) प्रकाशित भइसकेका छन् भने कविता सङ्ग्रह ‘आदिम फूल’मा ३७ थान लामा–छोटा कविताहरू समेटिएका छन् ।

विमोचन कार्यक्रममा महालक्ष्मी नगरपालिका–५ , ललितपुरका वडाध्यक्ष कपिल केसीले ’आदिम फूलझ कविता सङ्ग्रहलाई धेरैभन्दा धेरै पाठकमाझ पुर्याउनका निम्ति आफूले राज्यकोषबाट सेवासुविधा वापत पाउने एक महिना बराबरको रकम सहयोग उपलब्ध गराउने वचन दिनुभयो ।

कविता सङ्ग्रह ’आदिम फूलझको विमोचन कार्यक्रम पवन प्रकृति स्कूल, महालक्ष्मी–५, टिकाथली, ललितपुरको नेपाली विभागले विद्यालयको सभाहलमा आयोजना गरेको हो । स्कूलका प्रधानाध्यापक तथा साहित्यकार उत्तरकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सोही विद्यालयका विद्यार्थीले सङ्ग्रहमा समेटिएका कविताहरू वाचन गरेर सुनाएका थिए । विमोचन कार्यक्रममा विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूका साथै साहित्यकार तथा पाठकहरूको बाक्लो सहभागिता रहेको थियो ।