• २०८१ फागुन १ बिहीबार

अलेक्सान्दर पुश्किनको २२४औं जन्मजयन्ती मनाइयो

काठमाडौं, जेठ २४ ।

नेपाल–रुस साहित्य समाज र रुसी सांस्कृृति केन्द्र काठमाडौँको संयुक्त आयोजनामा विश्वविख्यात रुसी कवि, नाटककार र उपन्यासकार अलेक्सान्दर पुश्किनको २२४औं जयन्ती आयोजना गरियो । सोही कार्यक्रममा रूसी भाषा दिवस पनि मनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्मा र रुसी भवनका निर्देशक अन्तोन मास्लोभद्वारा रुसी सांस्कृतिक केन्द्रको परिसरमा अवस्थित पुश्किनको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु भएको थियो । साथै पुश्किनको जन्म–कार्यथलोको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

नेपाल रुस साहित्य समाजका अध्यक्ष जङ्गब चौहानको सभापतित्वमा सञ्चालित कार्यक्रममा अतिथिहरूको स्वागत गर्दै रुसी सांस्कृति केन्द्रका निर्देशक मास्लोभले रुसी भाषा–साहित्यको विकासमा पुश्किनको भूमिकाबारे प्रकाश पारे । सो अवसरमा सांस्कृतिक केन्द्रका भाषा शिक्षक सुशील सिग्देलले रुसी भाषाको विशेषताहरू र विश्वव्यापी महत्त्वमाथि प्रकाश पारेका थिए । कुलपति निशा शर्माले आफ्नो मस्को थियटरहरुको स्मरण गर्दै हामीले पनि भानुभक्तलाई त्यस्तै सम्मान प्रकट गर्नुपर्ने कुरा औँल्याइन् ।

यो जयन्तीको प्रमुख आकर्षण रहेको पुश्किन काव्यिक साँझमा रुसी तथा नेपाली स्रस्टाहरुले पुश्किनका कालजयी कविता वाचन गरे । जसमा लिजा कारञ्जित र नेरुसासका महासचिव चन्द्रकान्त आचार्यले स्मारक, नाताल्या र विष्णुबहादुर. सिंहले फूल, लिजा कारञ्जित र सुषमा खत्री रञ्जितले प्रतिध्वनि, निर्देशक अन्तोन मस्लोभ र डा. आमोदमणि दिक्षितले माया गरेँ तिमीलाई विक्रम के.सीले. ताच्याना वैद्य र नेपालीकला साहित्य डट कमकी अध्यक्ष मोमिलाले धाई आमा क्रमशः रुसी र नेपालीमा कविता पढे । शिल्पी थियटरबाट पुश्किनको कविता कैदीमा आधारित एकाङ्की नाटक प्रदर्शनले उनको रचनालाई जीवन्त बनाएको थियो ।

कार्यक्रममा जनमैत्री विश्वविद्यालयबाट भाषा शास्त्रमा विद्यावारिधि गरेका प्रा.डा. बलराम अर्यालद्धारा अनुदित दुई पुस्तकहरू निकोलाई गोगल, लेभ तोल्सतोय र अन्तोन चेखवका छानिएका कथाहरूको संग्रह थप बसिबिंयार्लो र लेभ तोल्सतोयका लघुत्तम बाल कथाहरुको विमोचन पनि भयो ।

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरुलाई धन्यवाद दिँदैं नेरुसासका उपाध्यक्ष विष्णुबहादुर.सिंहले संस्थाको प्रगति तथा भावी योजनाहरु प्रस्तुत गरे । साथै कार्यक्रम सञ्चालक रामविन्दु श्रेष्ठले रूसी भाषादिवसको अवसरमा हामी संसार भरका विद्यार्थीहरुलाई रूसी भाषा सिकाएर उच्च शिक्षा हासिल गर्न योग्य बनाउने गुरुहरु प्रति आभार व्यक्त गरे । कार्यक्रम समापन गर्दे नेरुसासका अध्यक्ष प्रा. डा. जङ्गब चौहानले पुश्किनका जीवनका मार्मिक र प्रेरक सन्दर्भहरु, उनको धाईआमाप्रतिको स्नेह र प्रेरणा अनि पुश्किनले बिताएका जीवनकालका भूगोलहरूमा आफूले भ्रमण गर्दाको अनुभव प्रस्तुत गरे ।