• २०८३ बैशाख २५, शुक्रबार

साहित्यकार प्रोल्लास सिन्धुलीयलाईभैरव अर्याल स्मृति सम्मान प्रदान

हेटौंडा ।

प्रत्येक वर्ष प्रदान गरिँदै आएको भैरव अर्याल स्मृति साहित्य सम्मान साहित्यकार प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार सिन्धुलीयलाई २१ हजार १ सय ११ रुपैयाँसहित २०८२ सालको भैरव अर्याल स्मृति सम्मान प्रदान गरिएको हो ।साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रूपमा प्रदान गर्दै आएको उक्त सम्मान भैरव अर्यालकै जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लेखन तथा नेपाली साहित्यको वाङ्मयप्रति पु¥याएको योगदानको कदर गर्दै सिन्धुलीयलाई प्रदान गरेको आयोजकले जनाएका छन् । सिन्धुली जिल्लाको गैयाटारमा जन्मिएका सिन्धुलीयले निरन्तर रूपमा नेपाली साहित्य लेखन, सम्पादनलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् ।

सिन्धुलीयले ‘बाहिर एक मुठ्ठी तुसारो छ’, ‘शब्दहरूको नेपथ्य’, ‘चुपचापको अन्त्य’लगायत कविता संग्रह प्रकाशन गरेका छन् । कविताबाहेक कथा, लघुकथा, उपन्यास, निबन्ध, यात्रा संस्मरणका दर्जनौं कृति पनि उनले प्रकाशन गरेका छन् । साहित्य सगंम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकारहरू स्नेह सायमी तथा लक्ष्मी मालीले आफ्ना कृति पुष्पलाल स्मृति पुस्तकालयलाई उपलब्ध गराएका थिए । कार्यक्रममा साहित्यकारहरू आरसी रिजाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल, कुन्ता शर्मा, निमेष निखिल, स्नेह सायमी, लक्ष्मी माली, धीरेन अनुपम, कल्पना पौडेललगायतको उपस्थिति थियो ।