कविता

बीस वर्ष बितिसके
मैले आफ्नी आमालाई भेटेको
उनले आफैँलाई मृत्यु उपहार दिएकी थिइन्
देख्नेहरूले मलाई बताए
हरेक बिहान आफ्नो टाउकोको स्कार्फ निकालेर
भुईंमा सातपटक, आफ्नै टाउको ठोक्काएर
स्वर्ग र तानाशाहलाई सराप्ने गर्थिन् ।
म गुफामा कैद थिएँ
जहाँ अपराधीहरू पढ्ने गर्छन्, अँध्यारोमा
र भित्ताहरूमा कोर्ने गर्छन्, भविष्यका खाकाहरू ।
बीस वर्ष बितिसके
जब मैले
आफ्नी आमालाई अन्तिमपटक भेटेको थिएँ
उनले मेरालागि एउटा चाइनिज कफी–सेट
छोडेर गएकी थिइन्–
हुन त सबै कपहरू फुटिसके र साह्रै भद्दा देखिन्छन्
तिनीहरू फुट्नुको कुनै पछुतो छैन
तथापि कफी नै मेरो सबैभन्दा प्रिय पेय हो ।
आजकल, म एक्लो छु
र म, मेरी आमाजस्तै बोल्न थालेको छु
या उनी मेरो जिब्रोमा बसेकी छिन्
गाली, श्राप र नचाहिने कुराहरू बोल्नका लागि
उनका तुक्का, याचना र लाञ्छनाहरू
सबै–सबै बोलिरहेकी छिन् मेरै मुखबाट
मैले मेरी आमालाई अन्तिमपटक भेटेको
बीसवर्ष भइसक्यो
तैपनि म नै त्यो अन्तिम मान्छे हुँ
जो आज पनि आफ्नै भाषा बोल्नेगर्छ ।
अनुवाद: राजेन्द्र शलभ