समाचार
काठमाडौ ।
मोरङको बेलबारी र सुन्दरहरैँचाका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको विषयमा अध्ययन गरेर लेखिएको ‘जीवनकथा अग्रजका’ नामक कृतिको लोकार्पण भएको छ । उक्त कृति लेखक तथा अनुसन्धता केशु विरहीले लेखेका हुन् । कोसी साहित्य–कला परिषद्का अध्यक्ष चिरञ्जीवी काफ्लेको अध्यक्षता तथा कवि एवम् सङ्घीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा शारदा दाहाल भण्डारीले शब्दमार्फत उपस्थितजनलाई स्वागत गरेका थिए । कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा एक भव्य समारोहबीच हालै सो कृतिको सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा कृतिको समीक्षा प्राडा भीम खतिवडा र लीला अनमोलले गरेका थिए। समीक्षक खतिवडाले खोजअनुसन्धान गरेर अग्रजहरूका बारेमा पुस्तक लेखिनु भनेको इतिहासलाई जीवन्त राख्ने काम भएको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिले पुराना र नयाँ पुस्ता बिचको खाडल पुर्ने आसा गरे । त्यस्तै सञ्चारकर्मीसमेत रहेकी अर्का समीक्षक अनमोलले लेखक तथा स्रष्टाले राज्यको अघि हात पसार्नुपर्ने अवस्था आउन नहुने, समाजमा चेतनाको विज छर्ने स्रष्टाहरूलाई हेर्ने जिम्मा समुदायको पनि रहेको बताइन् । उद्योगपति भोलेश्वर दुलालले इतिहासको रक्षा गर्नु सबैको कर्तव्य रहेको बताउँदै ऐतिहासिक व्यक्तिहरूको अध्ययन गरेर पुस्तक प्रकाशन गरेकामा कृतिकारलाई बधाई दिए । वक्ताहरूले बेलबारी र सुन्दरहरैँचाको सामाजिक धरातल बुझ्न ‘जीवनकथा अग्रजका’ कृति सन्दर्भ सामग्री बन्ने धारणा राखे ।
कृतिकार विरहीले अनुसन्धान तथा प्रकाशनसम्म आइपुग्दा आइपरेका समस्या र चुनौतीबारे बताउँदै अग्रजलाई सम्मान तथा उहाँहरूमा भएको अनुभवलाई नव पुस्तामा हस्तान्तरण गर्ने अभियानका क्रममा यो पुस्तक लेखेको बताए। दुई वर्ष लगाएर लेखिएको यस कृतिमार्फत आफूले राखेका तीनओटामध्ये पहिलो उद्देश्य ‘अग्रजका अनुभवलाई बाहिर ल्याउने काम’ पूरा गरे पनि ‘उनीहरूबारे चर्चा चलाउने’ र ‘अनुसन्धान अक्षयकोष वृद्धि गर्ने’ उद्देश्य पूरा गर्ने अभियानमा सबैको साथ खोजेको बताए । विरहीले यस कृतिको बिक्रबाट आएको २५ प्रतिशत रकम अनुसन्धान अक्षयकोषमा जम्मा गर्ने र उक्त रकमबाट आउने ब्याजबाट नवपुस्तालाई अनुसन्धानमा आउन अभिप्रेरणा जगाउने, अर्थात् पुरस्कारको व्यवस्था गरिने बताए ।
उक्त पुस्तकमा सामाजिक रूपान्तरणमा योगदान दिने ४६ जना बेलबारी र सुन्दरहरैँचाका अग्रजको अध्ययन गरिएको छ। पुस्तक ५६६ पृष्ठको छ । साहित्यकार नवराज पोखरेल ‘नवशिला’ ले सहजीकरण गरेको उक्त लोकार्पण कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
