• २०८३ बैशाख २१, सोमबार

कर्णाली युवा महोत्सवमा उत्कृष्ट १० युवाहरूलाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिने

सुर्खेत ।

‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करण वैशाख १९ र २० गते हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा उक्त कार्यक्रम हुने भएको हो। त्यसका लागि सम्पूर्ण तयारी भइसकेको कार्यक्रम मूल आयोजक समितिका संयोजक विनोदकुमार शाहीले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराए ।

उनका अनुसार, यो पटक कर्णालीको पहिचानका लागि उदाहरणीय कार्य गरेका उत्कृष्ट १० जना युवाहरूलाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिने छ । ‘युवाहरूका प्रतिभा पहिचान गर्ने, उनीहरूको क्षमता, व्यक्तित्वसँगै नेतृत्व विकासका लागि प्रेरणादायी स्थान उपलब्ध गराउनु, युवाहरूबिच आपसी सञ्जाल एवम् सम्बन्ध निर्माणको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नु महोत्सवको उद्देश्य हो,’ शाहीले भने, ‘साथै, स्थानीय कला–संस्कृतिको जगेर्ना, संरक्षण, प्रवद्र्धन गर्नु, कर्णाली प्रदेशमा भएका प्रचुर सम्भावनाहरूको पहिचान तथा ती सम्भावनाका विषयमा छलफल गर्दै ‘कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्’ भन्ने सन्देश प्रदान गर्नु पनि हो ।’

कार्यक्रमका संरक्षक भूपेन्द्रजंग शाहीले युवाहरूको सार्थक सहभागिताबाट नै समग्र प्रदेश र देशको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताए । ‘यसमा युवाहरूको क्षमता र प्रतिभा प्रस्फुटन गर्ने एउटा साझा डबलीका रूपमा स्थापित गर्ने हाम्रो मुख्य लक्ष्य हो,’उनले भने, ‘कर्णालीका युवाहरूको क्षमता वृद्धि गर्दै उनीहरूका सपनालाई अब उचाइमा पुर्याउन ‘कर्णाली युवा महोत्सव’ सदैव अग्रसर रहनेछ ।’ महोत्सवमा प्रदेशका सबै जिल्ला र स्थानीय तहबाट युवाहरूको सहभागिता रहने उनले बताए । यससँगै देउडा खेल, साङ्गीतिक प्रस्तुति, साहित्यिक प्रस्तुति पनि रहनेछन् ।