• २०८३ बैशाख २०, आईतवार

जेन कविता प्रतियोगितामा सुरज पराजुली प्रथम

काठमाडौं ।

जरा फाउन्डेसन, नेपालले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय जेन साहित्य संगोष्ठीको आयोजना गर्दै जेन कविहरूलाई पुरस्कृत गरेको छ । फाउन्डेसनले जेन कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविहरूलाई प्रमाणपत्रसहित नगद राशि पनि प्रदान ग¥यो । कार्यक्रमका प्रमुख अतिथि सिक्किमका साहित्यकार तथा संस्कृतिकर्मी सीपी भट्टराईले विजेता कविहरूलाई पुरस्कृत गरे । जेन कविता प्रतियोगितामा सुरज पराजुलीको कविता प्रथम, गोमा श्रेष्ठको द्वितीय तथा मोहित जोशीको कविता तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय कवितालाई क्रमशः २५, २० र १५ हजार रुपैयाँ नगद राशि प्रदान गरियो ।

प्रतियोगिताको उत्कृष्ट १५ कविहरूमा इन्दु भट्टराई, डा. कमला तामाङ, किशन पौडेल, गोमा श्रेष्ठ, गोविन्द प्रतीक, गोविन्द सुवेदी, दिलीप श्रेष्ठ, दोस्ती रेग्मी, पीआर भट्टराई, पुष्पा खनाल, मोहित जोशी, राजु उबरकोटी, सत्यजीत, सन्ध्या महर्जन र सुरज पराजुली रहेका छन् । कवि मोमिला, कुमारी लामा र डा. इन्द्रमान सुब्बा प्रतियोगिताका निर्णायक थिए । फाउन्डेसनले उत्कृष्ट कविहरूलाई पनि प्रमाणपत्र प्रदान ग¥यो । कार्यक्रममा उपस्थित प्रतियोगी कविहरूले आआफ्ना कविता वाचन गरे । काठमाडौंबाहिर रहेका कविहरूको भिडियो कविता प्रस्तुत गरियो ।

संगोष्ठी कार्यक्रमका प्रमुख अतिथि सीपी भट्टराईले आफू साहित्यमा भन्दा पनि लोकसंस्कृतिको काममा लाग्दै आएको बताउँदै जेन साहित्य जीवनलाई हेर्ने एउटा पृथक दृष्टिकोण भएको उल्लेख गरे । प्रमुख अतिथि भट्टराईले भने, “साहित्य लेखनको जिम्मा अब जेनजी पुस्तालाई लगाउनु पर्छ । हामीले सिक्किममा यस किसिमको काम सुरु गरिसकेका छौँ ।” उनले संगोष्ठी सुन्दर शान्त टापूजस्तो अनुभूत भएको बताए । कार्यक्रममा एनिला लुन्डुप तेन्जिङले जेन कविता र बुद्ध दर्शनबारे आफ्ना धारणा राखिन् ।

उक्त अवसरमा सिक्किमका डा. इन्द्रमान सुब्बा, जर्मनीका किम जे बाडेन, थाइल्यान्डकी दिव्या मौर्य, म्यानमारका रुनी अधिकारीसहित कुमारी लामा, महेश पौडेल, कृष्ण प्रसाईं लगायतले जेन कविताको उत्पत्तिका साथै यसको विकास विस्तारका विषयमा आफ्नो धारणा राखे ।