हिन्दी–कहानी
मनमा कुन वेला के तरङ्गहरु छुट्दछन् ? ठेगानै नहुँने। हिड्दा, बस्दा मात्र होइन एकान्तमा त झन फुर्छन् अनेक तरङ्गहरु । मनमा उम्रेका यस्ता बिउहरुलाइ नर्सरी रुपि कागजमा रोप्ने सानो प्रयास पनि गरिरहन्छु म । सानै देखिको हो यो वानी । डायरी नभए कुनै कागजको टुक्रा-टाक्री भए नि पुग्ने । मनमा उठेका तरंगहरु विसाउने एउटा तरिका । यत्ती नै हो लेखनको मुख्य ध्यय पनि । अरुहरुलाइ पनि सायद यस्तै हुँदो हो ।
आज पनि एकाविहानै बौरियो लेख्ने मुड । त्यसैले चिया नाश्ता पछि उक्लिएँ घरको माथ्लो तलातर्फ । अनि बसें डायरी लेखनको उहि मेसोमा ।
‘ए हजुर–म जरुरी कामले गर्दा पल्लारे गोमा बैनि काँ गएँ है ।’
‘बरु, चुल्होमा भात बसाली दिनु होला । आमा भोकाउँनु हुन्छ ’
बिहान उठे देखिन् नसुतुन्जेल सम्म घरधन्दाका पिरलोले गिजोली रहन्छन् रिताजी लाइ । रिताजी भन्नाले मेरी श्रीमती ।
‘सानो तिनो काम सघाइ दिंदा पनि राहत मिल्छ क्या’ त्यै भएर होला यस्तै यस्तै कुरा फलाकि रहन्छिन् उनि । सायद ‘माटाको भर ढुङ्गो र ढुङ्गाको भर माटो ।’ भनेको यै होला । यिनै र यस्तै कुराहरु गम्दै झरें भान्सा कोठा तर्फ ।यै मेसोमा आमा पनि टुप्लुकिनु भो मेरै सामुन्य । सोंचें, ‘छोराछोरी संग नजिकिन मन लागेर पनि हुनु पर्छ । ‘मौकामा चौका’ हानेकी हाम्री आमाले’ ।
अहिले, करिब नब्बेबर्षकी हुन ुभो हाम्री आमा । त्यसैले साथमा नभै नहुँने कुरामा पर्छन– चश्मा, टेक्ने लौरो, चप्पल आदि । अनि मुख्य समस्या भनेकै आफुलाइ नभैहुने सामान कता राखें भन्ने कुराको संझनै हुन छाड्यो आजकल । स्मृति भन्दा विस्मृतिको अवस्था । त्यसमाथी डरपोक स्वभाव । निम्छरा कुरा–अनि भुरा–भुरिको झेैं चन्चले वानी त भैहाल्यो । लगभग यस्तै यस्तै हुन् अहिले हाम्री आमाका बानी ब्यहोरा । दिशा पिसाव आफैले स्याहार्न सक्नु पनि अहो भाग्य ठानेका छौं । हाम्ले पनि । त्यसैले उहाँको सहयोगका लागी तम्तयार भएर वस्नु पर्छ घरपरिवारका सदश्य मध्यका एक जना ।
उमेरमा निक्कै हिम्मतिली, फुर्तिली र जाँगरिली मध्यमा गनिनु हुन्थ्यो हाम्री आमा । चिन्ने जान्नेहरुले पनि यस्तै कुरागर्छन् । साच्चिनै भन्नेहो भने अहिले अनुमानै लाउन नसकिने खालको क्षमाता र स्वभाव । तर अहिले, पहिलाको भैmं चुल्हो चौको, हाँडा भाँडा वा घरधन्दाका बिषयले सरोकार राख्दैनन् आमा सँग । डोका, नाम्ला, हँसिया, कोदाला जस्ता चिज अनि हिजोका ति वारी, पाखा,खर्वारी, खेत आदि पनि दुरदराजका कथा जस्तै भैसके अब ।
‘वास्तवमा, अहिले हरेक नेपालीहरुका आर्थिक, सामाजिक, सांस्कृतिक स्थिती बदलिएका छन् । अलि दु्रत गतिमा भन्दा पनि हुन्छ । बढ्रदो क्रममा छ नेपालीको सरदर आयु । तर अर्कातर्फ नेपाली युवाहरुमा घर देश छाड्ने क्रम बढ्रदो छ । सायद पेशा विहिनताले गर्दा पनि होला । यता कतिपय जेष्ठ नागरिकहरुलाइ आफ्नै घरका कोठाहरु दुरदराज जस्तै हुनथालेका छन । ठूल्ठूला महलहरु भित्र केवल एउटा कोठामा गुटमुटिएर बस्ने वाध्यताको श्रृजना । यीनै र यस्तै अवस्थाको भुङ्गेमा पिल्सिएर वसेका छन् धेरै जेष्ठ नागरिकहरु । तर यो मामलामा भने भाग्यमानी ठान्दा नि हुन्छ हाम्री हामालाइ ।’ यस्तै यस्तै तरंगहरु एक्सप्रेस गतिमा फुर्दै थिए, मेरो मन मस्तिष्कमा ।
‘ए बाउ मेरो उ(… ?) हरायो । खोज्देउ न ।’
आमाको भनाइले झस्किएँ म । आमा चोरी औंलाले आफ्नै आँखा तर्फ संकेत गर्दै हुनु हुन्थ्यो । मनमनै सोच्दै अञ्दाज लाउन थालें, लौरो र चप्पल त आमाको साथैमा छन् ?? अनि लख काटीहालें, ‘पक्कैपनि आमाको चश्मा हराएको हुँनु पर्छ ।’
सवैभन्दा पहिले पसें आमाको सुत्ने कोठा तर्फ । नियाल्न थालें पलङ्ग, विस्तरा, दराज आदि। त्यसपछि चहारें घरको गल्ली, आँगन लगायतमा पनि । तर पनि फेला पर्दै परेन आमाको त्यो चश्मा । त्यसैले विलखवन्दको अवस्था श्रृजना हुन थाल्दै थ्यो यो मनमा ।
‘भेट्यौ त बाउ ?’
एता आमा भुटभुटिएर हैरान ।
यसैबिच, ‘के गर्दै हुनुकुन्छ ? भन्दै टुप्लुकिइन रिताजी ।
उन्को आगमनले ठूलै राहत महसुस भै हाल्यो म मा । तर यो मनमा अनि अलि लहस्याहहट पनि छ । स्वाभाविकता देखाउने प्रयत्न गर्दै भने,
‘के गर्नु र ? आमाले चश्मा हराउनु भएछ । त्यसैको खोजीमा पो छु म त’
‘ह्या, किन आत्तिएको ?’
उनको ढाडसले थोरै राहत मिल्यो म मा ।
‘फलानो-फलानो ठाउँमा हेर्नु भो त ?’
‘हेरें ।
मैले थपें ।
यति सुनिसके पछि उनि पनि कस्सिइन चश्मा खोज्न तिर । म त छँदै थिएँ, त्यै रन्कोमा ।
एकैछिन पछि रिताजीको आवाज आयो,
यी यहि छ, त, चश्मा’
‘ए, गज्जबै भो त ’
मन्मनै फुरुङ्ग हुँदै‘ तर अलि दबेको स्वरमा तुरुन्तै सहि थापें मैले पनि ।
अनि सोधें,
‘कता फेला पायौ त चश्मा ?’
मेरो कौतुहलताको निवारण गर्दै रिताजी भन्दै थिइन्,
“आमाकै पटुकाको फेरोमा ।’
अनि हाँसो फुट्यो उन्को र मेरो ।
हराएको चश्मा फेलापरे पछिको खुसीको साटासाट पनि थपियो त्यै हाँसोमा ।
मैले आसर्य प्रकट गर्दै भने,
‘आमाकै पटुकाको फेरो मै रै छ त ?
“हो त ।’
आफ्नो हराएको चश्मा पाएपछि हास्नु भो हाम्री आमा पनि । अनि तिनैजना मज्जाले हास्यौं अलि बेर सम्मै ।
(सन्दर्ध: मातातिर्थ औंसी, २०८३)
जनक तिवारी