हिन्दी कविता
काठमाडौं ।
लामो समयदेखि साहित्य क्षेत्रमा क्रियाशील संस्था वसुन्धरा- मान प्रज्ञा-प्रतिष्ठानले २०८२ सालको ‘वसुन्धराश्री पुरस्कार’ र ‘मानश्री पुरस्कार’को घोषणा गरेको छ । प्रतिष्ठानले ‘वसुन्धराश्री पुरस्कार’ अग्रज साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई र ‘मानश्री पुरस्कार’ स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकबाट यो निर्णय गरिएको जनाइएको छ ।
आधुनिक कथा, नाटक र निबन्धको सिर्जनाद्वारा नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएबापत अग्रज साहित्यकार चन्दलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले जानकारी दिए । साहित्यकार चन्दका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’, ‘अपराजिता’ र ‘नेताका साथी’लगायत कृति प्रकाशित छन् ।
यस्तै, नेपाल तथा विश्वका विभिन्न मुलुकमा योग, ध्यान र आध्यात्मिक दर्शन तथा साहित्यको विकास र विस्तारद्वारा नेपाली वाङ्मय तथा सभ्यताको उन्नयनमा महत्त्वपूर्ण योगदान दिएकाले स्वामी आनन्द अरुणलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सदस्यसचिव क्षेत्रीले जानकारी दिए । स्वामी आनन्द अरुणका ‘अन्तरयात्रा’, ‘सन्तगाथा’, ‘सन्तदर्शन’ र ‘अचम्म जे देखेँ मैले’लगायत कृति प्रकाशित छन् ।
दुवै पुरस्कारका साथ नगद राशि जनही ७५ हजार रुपैयाँ प्रदान गरिने सदस्यसचिव क्षेत्रीले जानकारी गराएका छन् ।
