गतिविधि
काठमाडौं ।
एक समय नेपाली पत्रकारितामा सक्रिय डेलचन्द्र शर्मा (डीसी शर्मा) को कविता तथा निबन्ध समेटिएको पुस्तक ‘माटो र म’ लोकार्पित भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा शर्माका २२ कविता र नौ निबन्ध समावेश भएको कृति उपस्थित अतिथिहरूले लोकार्पण गरे । कार्यक्रममा पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहालले ३०को दशकमा शर्मासँगको सम्बन्ध, पत्रकारिता गर्दाको समयबारे आफ्ना धारणा राखे । उनले त्यो समयमा आफूहरूले पत्रकारिताको जरा बचाउने काम गरेको स्मरण गर्दै तत्कालीन समयमा गरिएको संघर्ष सम्झिए ।
दाहालले भने, “सिर्जनात्मक कृतिले मानिसलाई लामो समयसम्म बचाउँछ । डेल दाइले कृति प्रकाशित गरेर राम्रो काम गर्नुभएको छ ।” उनले अब शर्माको अर्को पुस्तक पनि आउने अपेक्षा गरे । कथाकार सरु पोखरेलले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै ‘माटो र म’मा शीर्षकले भनेझैँ देशप्रेम अगाध भेटिने उल्लेख गरिन् । अमेरिकामा बसोवास गरे पनि शर्माले नेपाललाई सधैँ माया गरेको बताउँदै कृतिभित्र उत्प्रेरक सिर्जनाहरू समेटिएको बताइन् ।
लेखक शर्माले ४०को दशकमा पत्रकारिता गर्दाको समय सम्झिँदै अमेरिका बसोवासको समयमा बेलाबखत त्यहाँ बस्ने नेपालीको पीडा र भोगाइ लेखका रूपमा लेख्दै आएको बताए । पछिल्लो समय ती आलेख तथा कविताहरूलाई पुस्तकाकार रूपमा ल्याउने हुटहुटी र साथीहरूको सहयोगले कृति सम्भव भएको शर्माले बताए । साहित्यिक पत्रकार संघ र मिलाप म्यागेजिनको आयोजमा सम्पन्न कार्यक्रममा राधेश्याम लेकाली, सूर्य कोइराला, विष्णु न्यौपाने, चन्द्रमणि गौतम, कृष्ण भुसाल र गीता अधिकारीले कृति र कृतिकारबारे आफ्ना धारणा राखे ।
