वसन्त वेला
काठमाडौं ।
नियात्राकार सागर गैरेको नियात्राकृति ‘एउटा अल्बाट्रस: प्रशान्त महासागरदेखि काला सागरसम्म’ लोकार्पण गरिएको छ । माया पब्लिकेसन्सद्वारा आयोजित कार्यक्रममा साहित्यकार, नियात्राकार, पत्रकार तथा पाठकहरूको उपस्थितिबीच कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक सागर गैरेले विभिन्न देशको भ्रमणका क्रममा देखेका समाज, संस्कृति, इतिहास, प्रकृति र मानवीय अनुभूतिलाई नियात्राका रूपमा पुस्तकमा समेटिएको बताउनुभयो । उहाँले यात्रा केवल भौगोलिक दूरी पार गर्ने प्रक्रिया नभई आत्मअन्वेषण, संस्कृतिको अध्ययन र विश्वलाई बुझ्ने माध्यम भएको धारणा व्यक्त गर्नुभयो । कोहलपुरमा रहेर लामो समयदेखि साहित्य साधनामा सक्रिय गैरेको कृतिमा मलेसिया, भियतनाम, भारतको गोवा, फिलिपिन्स र जर्जिया भ्रमणका अनुभव समेटिएका छन् । प्रशान्त महासागरका किनारादेखि काला सागर क्षेत्रसम्मको यात्रालाई लेखकले संवेदनशील र कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ ।
कृतिमाथि टिप्पणी गर्दै नियात्राकार युवराज नयाँघरेले पुस्तकले नेपाली नियात्रा साहित्यमा नयाँ ऊर्जा थपेको बताउनुभयो । उहाँले लेखकले भ्रमण गरेका स्थानको भौगोलिक विवरण मात्र नभई त्यहाँका मानिस, संस्कार, जीवनशैली र सभ्यताको अन्तध्र्वनिलाई समेत समेट्न सफल भएको उल्लेख गर्नुभयो । नियात्राकार तथा लेखक प्रतीक ढकालले कृतिलाई नेपाली दृष्टिकोणबाट विश्वलाई बुझ्ने प्रयासका रूपमा व्याख्या गर्नुभयो । विदेशी समाज र भूगोलको वर्णनसँगै आफ्नै समाज र संस्कृतिसँग तुलना गर्ने लेखकको शैली पुस्तकको विशेषता रहेको उहाँको भनाइ थियो । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ले कृतिले विभिन्न देशका भूगोलभित्र मानव सभ्यताको विकासक्रम खोज्ने प्रयास गरेको बताउनुभयो । उहाँले इतिहास, राजनीति, संस्कृति र सामाजिक संरचनालाई पनि नियात्रामा समेटिएको उल्लेख गर्नुभयो ।
नियात्राकार जय छाङ्छाले पुस्तकको भाषाशैली, प्रस्तुतीकरण र दृश्यात्मक वर्णनको प्रशंसा गर्दै लेखकले देखेका दृश्यलाई शब्दमार्फत जीवन्त बनाउन सफल भएको बताउनुभयो । साहित्यकार तथा नियात्राकार भवानी खतिवडाले कृतिले विश्व नागरिकताको चेतना विस्तार गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विभिन्न संस्कृति, भाषा र जीवनपद्धतिप्रति सम्मानभाव जगाउने क्षमता पुस्तकमा रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा वक्ताहरूले मोफसलमा रहेर निरन्तर साहित्य साधनामा सक्रिय सागर गैरेले नेपाली नियात्रा साहित्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको धारणा राख्दै कृतिले नेपाली साहित्यको भौगोलिक दायरा विस्तार गरेको बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन नवीन अभिलाषीले गर्नुभएको थियो भने आयोजक माया पब्लिकेसन्सका प्रबन्ध निर्देशक विनय दत्तले कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।
