समाचार
गाह्रो हुन्छ बुढेसकालमा उध्रिएको सिउन पनि
पानी नै किन नहोस् सकिन्न मागेर पिउन पनि
देख्नेहरूले त फोटोमा मुस्कुराएको मात्र देख्छन्
सकस छ मान्छेलाई दुःख लुकाएर जिउन पनि ।
सिसिफसका ढुङ्गाझैँ सम्बन्ध, गुडेर जान्छन्
निर्माेहीहरू फूुललाई पनि, चुँडेर जान्छन्
प्रेम त आफैले आफैलाई गर्नुपर्ने रहेछ यहाँ
हरियो नभए चराहरू पनि त, उडेर जान्छन् ।
अँध्यारोमा देखिन्छ, उज्यालोमा कहाँ छाया हुन्छ
तबसम्म साथ रहन्छ, जबसम्म तिम्रो काया हुन्छ
घुक्र्याउ, झगडा गर, कयौं दिनसम्म नबोल मसँग
तिमी तआफ्नो, रिसाउ रिसाउनुमा पनि माया हुन्छ।
उडेर सिमलको भुवा पनि सकिन्छ एकदिन
खेलेर सकुनीको जुवा पनि सकिन्छ एकदिन
भरी छ अहिले भनेर उबाउँदै पोख्दै नगर प्रिय
सुकेर मायाको कुवा पनि सकिन्छ एकदिन ।
हिमालमा तातो हावा चलेको थाहा भयो
मौसमले अनायासै छलेको थाहा भयो
वचनका सुइराहरूले असाध्यै पोल्यो र पो
इष्र्याले भित्रभित्रै तिमी जलेको थाहा भयो ।
निशा केसी