• २०८३ बैशाख ६, आईतवार

अमृता स्मृतिको एकल कविता वाचन सम्पन्न

दमक ।

डिपिएल (म्एी) दमकको आयोजनामा ‘साहित्यकास’ विशेष साहित्यिक कार्यक्रमअन्तर्गत कवि अमृता स्मृतिको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम डिपिएल दमककी अध्यक्ष पूर्णिमा तिम्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख आकर्षणका रूपमा रहेकी कवि अमृता स्मृतिले आफ्ना सिर्जनामार्फत नेपाली समाजका विविध यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्नुभयो । उहाँका कविताहरू विशेषगरी नारी जीवन, वर्गीय विभेद, प्रेम तथा मानवीय संवेदनाका विभिन्न आयाममा केन्द्रित रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पूर्णिमा तिम्सिनाले युवापुस्तालाई साहित्यसँग जोड्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले दमकलाई साहित्यिक नगरीका रूपमा विकास गर्न ‘साहित्यकास’ जस्ता पहलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दमक क्षेत्रका विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा युवा स्रष्टाहरूको सक्रिय सहभागिता रहेको थियो । आयोजकका अनुसार ‘साहित्यकास’ कार्यक्रमले स्थानीय स्तरमा साहित्यिक चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्राप्त जानकारीअनुसार कवि अमृता स्मृति नेपाली साहित्यमा उदाउँदै गरेको एक प्रगतिशील आवाजका रूपमा स्थापित हुँदै गइरहनुभएको छ । उहाँका कवितामा प्रेम, प्रकृति, सहअस्तित्वका साथै लैङ्गिक तथा वर्गीय असमानताजस्ता विषयहरू गहिराइका साथ अभिव्यक्त हुने गरेका छन् ।