• २०८३ बैशाख ६, आईतवार

‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ गजलकार, कवि तथा कथाकार सुन्दर कुरुपलाई

पाँचथर ।

इलाममा स्थापित हाङयुगजुनिता फाउन्डेसन ले यस वर्षको ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ गजलकार, कवि तथा कथाकार सुन्दर कुरुप लाई प्रदान गर्ने घोषणा गरेको छ । फाउन्डेसनले प्रेस विज्ञप्तिमार्फत उक्त पुरस्कार यही वर्षदेखि वितरण सुरु गर्न लागिएको जनाएको हो । पहिलो संस्करणको पुरस्कार वैशाख १८ र १९ गते आयोजना हुने इलाम साहित्य महोत्सव को उद्घाटन सत्रमा प्रदान गरिने फाउन्डेसनका अध्यक्ष हाङयुग अज्ञात ले जानकारी दिनुभयो ।

पुरस्कारमा नगद ५० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिनेछ । फाउन्डेसनका अनुसार हरेक वर्ष साहित्य, कला, संगीत, पत्रकारिता, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायतका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई यस पुरस्कारद्वारा सम्मान गरिनेछ । यस वर्षको पुरस्कारका लागि इलाम नगरपालिकाको साहित्य कला संगीत प्रतिष्ठान को सिफारिसमा सुन्दर कुरुप लाई चयन गरिएको हो । गजल, कविता र कथामार्फत नेपाली साहित्यमा योगदान पु¥याउँदै आएका कुरुप इलामको हात्तीलेखा क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ र राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएको छ । फाउन्डेसनले साहित्य तथा सिर्जनशील क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो पुरस्कार स्थापना गरिएको जनाएको छ ।