• २०८३ बैशाख ६, आईतवार

प्रज्ञा–प्रतिष्ठानमा “वर्तमान समयमा स्रष्टाको दायित्व“ विषयक विचारगोष्ठी सम्पन्न

काठमाडौँ ।

प्रगतिवादी साहित्यकार तथा समालोचक घनश्याम ढकालको १४औँ स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र साहित्येतिहास) विभागले घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा वर्तमान समयमा स्रष्टाको दायित्व विषयक विचारगोष्ठी भव्यतापूर्वक सम्पन्न गरेको थियो । उक्त गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य डा. अमर गिरीले उक्त विषयको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले लेखक, साहित्यकार भनेका समाज रूपान्तरणका सांस्कृतिक संवाहक हुन । यो कुरा प्रगतिशील विचारबाट मात्रै सम्भव छ । तर, प्रगतिशील भनिएका लेखकहरू स्वयम्मा प्रगतिशील छन् कि छैनन्, तिनको जीवनशैली र कार्यशैली बारे प्रश्न, प्रतिप्रश्न गर्नुपर्ने समय आएको कुरा उहाँले बताउनुभएको थियो । साथै,कुलपति राईले घनश्याम ढकाललाई प्रगतिवादी कथाकार ,समालोचक र सौन्दर्य चिन्तकका रूपमा आफूले चिनेको बताउँदै घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानसँग सदैव सहकार्य गर्न आफू तयार रहेको बताउनुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रगतिवादी कथाकार र सौन्दर्य चिन्तकका रूपमा प्रसिद्ध स्रष्टा घनश्याम ढकाल सधैँ हामीसामू रहिरहे एक अमर स्रष्टा भएको कुरा आफ्नो स्वागत मनतव्यमा क्रममा उल्लेख गर्नुभएको थियो । प्रगतिवादी साहित्यकार घनश्याम ढकाल बारे नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले घनश्याम ढकालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य साहित्य (समालोचना र साहित्येतिहास) विभाग प्रमुख डा. मधुसूदन गिरीले प्रगतिवादी स्रष्टा घनश्याम ढकाललाई एक निष्ठावान् स्रष्टाको रूपमा चित्रित गर्दै धन्यवाद ज्ञापन प्रस्तुत गर्नुभएको थियो ।

डा. अमर गिरीले आफ्नो अवधारणा पत्र प्रस्तुत गर्दै ’’वर्तमान समयलाई तीव्र सूचना प्रवाह, बजारवाद र उपभोक्तावाद हाबी भएको र प्रविधिको वर्चस्व बढ्दै गएको समयका रूपमा चित्रित गर्दै यस्तो समयमा स्रष्टाहरूले सङ्गठित र सिर्जनात्मक रूपमा समाजपरक र सौन्दर्यपरक भूमिका निर्वाह गर्नुपर्ने“ विचार व्यक्त गर्नुभएको थियो । डा. गिरीले “मानवताका पक्षमा, परिवर्तनका पक्षमा र सुन्दर समाज निर्माणका पक्षमा उभिने स्रष्टाहरूले आफैँ आफ्नो भूमिकालाई परिभाषित गर्नुपर्छ । आजको मानवद्वेषी संरचनाविरुद्ध नउभिई स्रष्टाले यस दायित्वलाई निर्वाह गर्न सक्दैनन्”भन्ने कुरा आफ्नो अवधारणा पत्रमा प्रस्तुत गर्नुभएको थियो ।नेपालको बिग्रँदो आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक स्थिति स्रष्टाका लागि गम्भीर सरोकारको विषय भएको चर्चा गर्दै डा. गिरीले “परिवर्तनका निम्ति सङ्घर्षरत स्रष्टाहरूबिचको सहकार्यलाई बढाउन आवश्यकता रहेको “पनि औँल्याउनुभएको थियो । गिरीले अवधारणापत्रमा “अन्यायपूर्ण युद्धको प्रतिवाद, आणविक हतियार निर्माणको होड र पर्यावरण विनाशले निम्त्याएको सङ्कटप्रति पनि स्रष्टाहरूको गम्भीर सरोकार“ हुनुपर्नेमा कुरामा जोड दिनुभएको थियो  ।

डा. गिरीको अवधारणापत्रमाथि टिप्पणी गर्दै प्रा.डा. रमेशप्रसाद भट्टराईले “स्रष्टाहरूले प्रतिरोधी ज्ञान निर्माणको अगुवाई गर्नुपर्नेमा पछिल्लो समयमा त्यो भूमिका फितलो हुँदै गएको जिकिर गर्नुभएको थियो । डा. भट्टराईले ज्ञान निर्माण कुनै एकजना व्यक्तिको क्षमताको विषय नभई संस्थागत र सामूहिक प्रयत्नको उपज“ हुने बताउनुभएको थियोे । उहाँले “ज्ञान निर्माणको काम प्रतिष्ठानहरू, बौद्धिक सङ्गठनहरू, सांस्कृतिक संस्थाहरू र प्रगतिशील लेखक सङ्घ जस्ता मञ्चहरूबाट हुनुपर्ने हो । तर, पछिल्लो समयमा प्रगतिशील लेखक सङ्घ कहाँ छ वा छ कि छैन, कसैलाई थाहा छैन । त्यसको उपस्थिति बजारमा कतै देखिन्नँ ।” डा. भट्टराईले हाल उत्तरआधुनिकतावादका नाममा भइरहेको सांस्कृतिक अतिक्रमणको पनि स्रष्टाहरूले प्रतिवाद गर्नुपर्ने“ बताउनुभएको थियो ।

अर्का टिप्पणीकार सांस्कृतिक अध्येता भोगीराज चाम्लिङले “आज नेपालका समाजवादी चिन्तन बोक्ने स्रष्टाहरूले नेपाली समाजभित्रै रहेका प्रगतिशील तत्त्व र समाजवादमैत्री ज्ञान प्रणालीहरूलाई आत्मसात् गरेर मात्रै विश्वव्यापी रूपमा साम्राज्यवादी संस्कृतिसँग जुध्न सक्ने “विचार व्यक्त गर्नुभएको थियोे । उहाँले “नेपाली राजनीतिका परिवर्तनहरूलाई जोगाउन र नयाँ न्यायपूर्ण समाज निर्माण गर्न समुदायको ज्ञानमा भएको भौतिकवादी र प्रगतिशील तत्त्वलाई अँगाल्नुपर्ने“मा जोड दिनुभएको थियो ।

गोष्ठीमा घम्बर नेपालीले नेपाली समाजको आजको स्थिति, निजी सम्पत्तिको उन्मूलनको अवस्था, दक्षिण एसियाली समाजमा जात व्यवस्थाको विभेद र समाजवादी आन्दोलन बारे विचार राख्नुभएको थियो । त्रिविका उपप्राध्यापक तथा समालोचक विष्णु ज्ञवाली, साहित्यकारद्वय सरोजदिल विश्वकर्मा र कल्पना खरेल लगायतले आ-आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका सभाध्यक्ष, घनश्याम सांस्कृतिक प्रतिष्ठानका कार्यवाहक अध्यक्ष तथा प्रगतिवादी साहित्यकार हरिहर खनालले संस्था बारे प्रष्ट पार्नु भएको थियो । उद्घोषण घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका सदस्य तथा नेसंविका उपप्राध्यापक तेजविलास अधिकारीले गर्नुभएको थियो ।