समाचार
काठमाडौँ ।
नेपाल –प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा’ सार्वजनिक गरिएको थियो । प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएका उक्त कार्यक्रमलाई –प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले मातृभाषाका बारेमा काम गर्दा माक्र्सवादी भएको आरोप लगाउने पनि छन् । यदि समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्दा माक्र्सवादी भन्छन् भने मलाई माक्र्सवादी हुनुमा गर्व छ। प्रज्ञा– प्रतिष्ठान समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्न सक्षम भएको बताउँदै संवैधानिक रूपमा नेपालका १२४ वटै मातृभाषाको संरक्षण र संवर्धान गर्नु सबैको दायित्व रहेको बताउनुभएको थियो । साथै, उहाँले वर्तमान सरकार दुई–तिहाई नजिक रहेकाले मातृभाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्य हुनेमा आफू आश्वस्त रहेको बताउँदै पहिले किरात भाषामा ’चोमोलुङ्गा’ र शेर्पाभाषामा ’ज्योमोलाङ्मा’ भनिन्थ्यो । तर पछि यसलाई किन सगरमाथा नामाकरण गरियो ? यसले गम्भीर प्रश्न उठाएको छ ।चोमोलुङ्मा वा ज्योमोलाङ्मा नामलाई नै व्याप्कता दिँदा के नै बिगरिन्थ्यो र ? के त्यसको उचाइ घट्थ्यो र ? यसरी इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रयाप्त बजेटका अभावका बाबजुद पनि मातृभाषामा जे जति काम भएको छ ,त्यो सम्झिनलायक नै छ भन्ने धारणा राख्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख,कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले प्रज्ञा–प्रतिष्ठानबाट मातृभाषा साहित्य शृङ्खला सञ्चालन भएपछि मातृभाषाको क्षेत्रमा नयाँ जागरण आएको चर्चा गर्दै मातृभाषाका पाठ्यपुस्तक निर्माण हुँदा विषयवस्तुमा के कस्तो प्रभाव परेको छ । त्यस्ता पाठ्यपुस्तकहरू प्रत्येक आदिवासी जनजातिको सौन्दर्यअनुसार हुनुपर्नेमा जोड दिनुभएको थियो ।
अध्येताद्व्य किरणकुमार बरामले ’बराम समुदायको लोकसाहित्य’र पदम रानाले ’रानाथारु साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना भएको ६८ वर्षको इतिहासमा पहिलोपटक शेर्पा भाषाको पत्रिका ’ज्योमोलाङ्मा’प्रकाशित गरेको थियो ।यसको सार्वजनिकीकरण कुलपति राई लगायतले गर्नुभएको थियो । प्रत्येक कार्यक्रममा फरक–फरक मातृभाषाका तीन कविले कविता वाचन गर्ने गर्छन् । यसपटक भने भोजपुरी भाषाका कवि रितेश त्रिपाठी ,आठपहरीया भाषाका कवि विमला राई,अछामी भाषाका कवि प्रदीप जैसीले आआफ्ना मातृभाषामा कविता वाचन गर्नुभएको थियो ।
सार्वजनिकीकरण गरिएको शेर्पाभाषाको उक्त पत्रिकाको समीक्षात्मक मनतव्य पत्रिकाका कार्यकारी सम्पादक दावा शेर्पा (डि.एन.)ले गर्नुभएको थियोे।शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिनेल शेर्पाले कुलपति राई र प्राज्ञ राजन मुकारुङलाई खादा ओढाएर सम्मान स्वरूप मायाको चिन्हो र राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रज्ञा पुस्तकालयका लागि एक थान पुस्तक उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।
