तिमी
शिखर टेकेर
मन्दिर पसेर
पानी छोएर
जून साँचेर
गरेका छौ घोषणाहरू
राखेका छौ भाकलहरू
खाएका छौ कसमहरू
कोरेका छौ प्रतिज्ञाका लिखतहरू,
त्यसरी त
घामले उदाउँदै गर्दा
जलले वर्षंदै गर्दा
हावाले बहँदै गर्दा
माटोले समेल्दै गर्दा
गर्दैनन् घोषणाहरू
राख्दैनन् भाकलहरू
खाँदैनन् कसमहरू
कोर्दैनन् लिखतहरू
उमार्नुअघि धर्तीमा जीवनको मुना ।
अनुनय, आग्रह, धम्कीहरूले
आत्मीय हुँ भन्ने
विश्वासको परिचय कहाँ मिल्छ र?
आफूलाई चिनाउने उग्र अभिलाषाले
चर्किएका, उर्लिएका, बत्तिएका
घाम, पानी, हावाहरूले
कैयौँजीवन, कैयौँ वस्ती उजाडेको
साक्षी छन् समयका डोबहरू ।
म त त्यसरी नै
तिमी, तिमी हुनु मात्रले उमारेको
मेरो हृदयमा
विश्वासको मुना खोजिरहेछु ।
(ढुङ्गाना चर्चित साहित्यकार हुन्)
[email protected]