• २०८३ बैशाख ४, शुक्रबार

नयाँ वर्ष

उदय निरौला

उदय निरौला

दशैँ कुरिरहेको छ सानो कालक मझेरीमा
एक झुम्रो लुगाकोलागि
पुस्तक बोक्ने हातहरूले हँसिया बोकेर
कान्लो चड्दैछ किशोर
अरब पसेको छ उसको पिता उसकै पेट हेरेर ।

तै पनि नयाँ वर्ष आउँछ
कुटमिरोको कापकापमा सुनमखरी फुलेको छ
अलि माथि सैलुङ मुनि लालिगुराँस रातै झुलेको छ
सोच्छ किशोर त्यो लालिगुराँस
आङको बनियान बने हुने
बालक भाइको पेट पुर्ने अक्षता बने हुने
तर भैदिँदैन त्यस्तो
कताकता तुवाँलो लाग्छ र छेकिन्छ नयाँवर्ष
कताकता धुवाँले नमज्जाले छेकिन्छ सुनाखरी
बाक्लै सालिम्बो पसारिएको छ पाखामा
सुनेको छ किसोरले त्यसको पनि कागज बन्छ रे
बने त सायद कलेजको पुस्तक पनि बन्थ्योहोला
फिस पनि तिथ्र्यो होला ?

खै ! केही छैन नयाँ अनिके सजिन्छ नयाँ वर्ष
भालुबाँसले लगाएको खबटाको लुगा हेर्छ
मालबाँसमा हुँइकिएको पिङ हेर्छ
र आफ्नो भाइले दशैं पर्खिरहेको पर्खाइ हेर्छ
र टाढा खाडी पसेको पिता गएको दिशामा आँखा फेर्छ
त्यो पनि तुँवालोले ढाकिरहेको देख्छ
कठै नयाँ वर्ष उसका मजेरीमा अरु बढी उदासी पोत्दै पोत्दैझर्छ
न त लालिगुराँसले उसलाई छुन्छ
न त कुटमिराको कापको सुनाखरीले उसलाई छुन्छ
यसरी झरिरहेछ लामो इतिहासदेखि
उसको मझेरीको वर्तमानसम्म नयाँवर्ष
एक पछि अर्को रित्तै रित्तै र रित्तै
वर्तमानसम्म
अनगिन्ति नयाँ वर्ष फगत उसलाई पुरानो पारेर
आमाका गालामा आँसु वर्षाएर
नयाँ वर्ष !!


उदय निरौला