• २०८० मंसिर १३ बुधबार

छाउपडीको मौलो

रवीन्द्रनाथ पोखे्रल

रवीन्द्रनाथ पोखे्रल

मैले कयौं रातहरू
औंसीका जुनमा ताराहरू
गनेर कहाली लाग्दो छट्पटीका
सकस र व्यथालाई शीतल बनाएकी छु !

पुस्ताको अँध्यारो चेतनाको झुपडीमा
घाम नउदाएको त
सत्य, त्रेता, द्वापर युगौं देखि हो
ती युगलाई मैले भोग्नु परेन
यद्यपि !
सीता, गंगा, द्रौपदी, योगमाया जस्ता
मेरा पुस्ताका छोराहरूको अँध्यारो
खोपडी भित्र छोरीहरूले भोगेको
कथा सुनेर यो वर्तमान कलिमा
सदियौँ  विताई सकेकी छु !

त्यसैले त आज पनि भूत पालेर
त्यही छाउपडीमा चिसो पराल
ओडेर हरेक महिनाहरूमा
अंधविश्वासको झरी पिएर
आनन्दको कालो रात काटेकी छु
मीठो अनिद्राको भोक खाएर !

मलाई
कुनै नौलो अनौठो लाग्दैन
सानैमा मैले योद्धाको तालिम
लिइसकेकी छु
कि ! आमा दिदी भाउजुको
भात खुवाइका महोत्सवमा
तितो अनुभुव सँगाली राखेकी छु !

ती कथित स्वार्थी सेता बादलभित्र
लुकेको निलो आकाशको
संसार देखाउने आश्वासनका
क्रान्तिको महायुद्धमा सपनाको
ओछ्यानमा लडेर भविष्य खोज्नलाई !

अहँ!
मलाई पश्चाताप केही छैन
यो सतीको सराप परेको स्वर्गको
हिमाल मुनिको छायामा
क्रुर विस्वासको सुन्दर शान्त
देशको अपमानित छोरी हुँ
मलाई त यसैमा ठुलो गर्व छ !

विविध संस्कृति र कलाले
सुसज्जित कुसंस्कारको भारी
खोक्रो विचारमा बोकेर बसेको
पुर्खा देखिको विरासतको
सङ्किर्ण आदिकालको फाँट
जहाँ हिंसा र तिरस्कारको
गाण्डीवले पलपलमा
सृष्टिहरूको बलि चढाइन्छ !

म् स्वयं बाबुको धर्म जोगाउने
सौभाग्य पाएकी एउटा निरीह छोरी हुँ !
ऋतुमासको पापको फाल्सा
आँतको कुना अन्तरमा पालेर
अनकण्टार गुफाको संसारमा
बास बस्न जन्मेको अभागी पनि ।

प्रत्येक मासहरूमा म जस्ताले
पूर्वजन्मको कसुर बापत
झुठो आक्षेपका अन्यायी मुद्दामा
यो समाजको क्रुद्ध ईजलासले
मेरा दावली विरूद्ध पाप
सावितीको फैसलामा कैद सजाय
भोगेर पूनर्जन्मको कल्पनाको
गहुँत खाँदा खाँदै वर्तमानमा
बाँच्न विवस पारिन्छ !

ओहो ! म त बेसुरका
छालमा पो पौडिन पुगेंछु !
कि !
म आफैँ लडाकु योद्धा भएर पनि
किन आफैँलाई निरीह प्रमाणित
गर्ने व्यर्थ दुष्साहस गरिरहेछु ।

यद्यपि !
फेरि मेरा धर्मका फौजी कमान्डरले
भेरी कर्णालीको तिरको
अग्नि कुण्डमा चोख्याउन
पठाउन सक्छन्,
इतिहास साक्षी छ लघुताभासको
पासोमा कि सीता बल्झेकी छन्
पीडाको कालान्तरमा
भास्सिन पर्यो
म पनि त्यसै गरि जिउँदै
स्वयंको मौन धारण गर्नु
मेरो जन्मदैको नियतिको धर्म हुनेछ !

मलाई
कसैले पनि अयोग्य लडाकुको
बिल्ला भिराएर अलपत्र पार्ने
दुश्प्रयास गर्ने अधिकार छैन
म त भुक्तभोगी अविवाहित
वीर विरङ्गना नारी हुँ
त्यसैले त म माथि नै रगतले
पुस्तौँको देखि पालि राखेको
धारिलो तरबार खप्परमा बोकेर
खोर भित्रको मौलोमा बलि चढाउँछन् ।

मलाई
आश्चर्य पटक्कै लाग्दैन
किन लाग्नु व्यर्थको चिन्तापनि
मेरो हजुरआमाहरूको पालादेखिको
भोग चलन गर्दै आएको वकसमा
मेरी आमाले यही धर्मका लागि
धेरै म भन्दा माथि दाइदिदीहरू
बलि चढाएर धानेको बा को नासा !

मेरा भाउजुहरूले पानी नपिएर
लडेर पनि जोगाएको पेवा कोसेली
माइतीले गोडा धोएर दिएको दाइजो
मैले उपहार स्वरूप पाउनु त
मेरो छाउपडी इतिहासको संस्कृति हो !

त्यसैले त !
म माथि अन्धविश्वासको
खातले दायित्व र जिम्मेवारी
सुम्पेको छ,
नमान्नु मेरो
चुनौती हुनेछ !

तर !
त्यत्ति ठुलो जनयुद्धको
उद्घोषले त सकेन भने
मेरो एक्लो प्रयासमा सितलनिवास
अट्टहास गर्दै हास्ने छ ।

चन्द्र शमशेरको सिंहदरबारले
गिज्याउनेछ कि तेरो सती प्रथा
भगाउने ऊ मरि सक्यो
पालो  बाँकी अब तेरो मात्रै हो भन्दै
न कर्णालीको मातको बाढी
कहिल्यै चेतनामा सरिता भै बग्नेछ ।

जनयुद्धको कमान्डरले त पहिल्यै
अयोग्य लडाकु घोषित गरिसक्यो !
सानेपा धुम्बाराही त स्वयं
विनाशको संघारमा कुरूक्षेत्रको
युद्ध लड्दैछन्

अब त मेरो मात्र !
पुर्खाको अस्तित्व मास्नुको
चुनौती अनर्थको धर्म बराबर हुनेछ ।
हो ! यसै गरि कर्णालीको
छाउपडीको मौलो बाचेको छ !
हिंसा तिरस्कारका सिकार भै
रजऋतु मासका छोरी,
प्रशव पिडाको भुङ्ग्रोमा आमाहरूले
जीवन आहुती गरिरहने छन्

भने !
मैले बचाइ राखीदिए न हो,
अबको सन्ततिहरूले पनि
मेरो जस्तै क्रान्तिको सास्ती भोगेर
युगौं युगसम्म वीर योद्धा भै
कर्णालीको भीरमा लडिरहनेछन् नी !


रवीन्द्रनाथ पोखे्रल, नवलपरासी
[email protected]