२० वैशाख, काठमाडौँ
क्यानभासमा चित्रित समृद्ध मखियाका सपनाहरु प्रदर्शनमा राखिएका छन् । समृद्ध मुखियाको बाल्यकाल बाबु टेकवीर मुखियाका कलाकृति हेरेर बित्यो । बाबुले सिर्जना गरेका आवरण चित्र, मुहार चित्र तथा अन्यथुप्रै कलाकृतिहरू नियालेका उनले आफू पनि त्यही बाटो पछ्याउँछु भनेर सोचेका थिएनन् । जब स्कुले बेला बित्यो, उनी अनायसै कलासँग जोडिए । मान्छे, मनोविज्ञान, सामाजिक परिधि, राजनीतिका विविध पक्ष मिहीन ढंगले केलाउन थाले । आफूले कोर्ने विषय खोज्दै गए । फलतः उनका सिर्जना शक्तिशाली बनेका देखिए ।
समृद्धका तिनै सिर्जना ‘सपना’ शीर्षकमा राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनमा छ । मंगलबार सुरु भएको प्रदर्शनीमा समाज, धर्म, राजनीति, प्रविधि, शिक्षाका विविध पक्षहरू मिहिन रूपमा चित्रित छन् । छोराको प्रदर्शनी उद्घाटन गर्न ८९ वर्षीय टेकवीर मुखिया आफैं बबरमहल ग्यालरीमा उपस्थित भए । आधा शताब्दी साझा प्रकाशनमा कला प्रमुखका रूपमा काम गरेका मुखियाले मुना मदन, बसाइँ, गौरी, मालतीमंगले आदि चर्चित कृतिका आवरण बनाएका हुन् । संविधानसभा सदस्य, प्रतिनिधिसभा सांसदको लोगो पनि उनले नै डिजाइन गरेका हुन् ।
एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका समृद्धले अधिकांश चित्र उतै बसेर सिर्जना गरेका छन् । केही चित्र मात्र नेपालमा कोरिएको उनले बताए । अमेरिकामा नै दर्जनको हाराहारी प्रदर्शनीहरूमा सहभागी भइसकेका उनको नेपालमा भने यो पहिलो एकल प्रदर्शनी हो । प्रदर्शनीमा राखिएका कृतिहरूमा समृद्धले मानसिक स्वास्थ्य देखि शिक्षा, राजनीतिक प्रणालीहरूलाई उठान गरेका छन् । जब मानिस डिप्रेसनको सिकार हुन्छन्, के के सोच्छन्, त्यो उनको चित्रमा छ । ‘सपना’ शीर्षकको चित्रमा मीठो निद्रामा देखिने दृश्यलाई गहन रूपमा पस्केका छन् । हावा लागिरहेको, चरा उडिरहेको, त्यसैमा देखिएका इनार, रूखबिरुवा बिम्बात्मक छन् । रूखबिरुवालाई उनी सहारा र इनारलाई केही खुसी पाउन अर्को वस्तुसँग जोडिनुपर्ने बिम्बका रूपमा लिन्छन् । ‘सिम्फोनी’ शीर्षक चित्रमा प्रविधिको गतिमा दौडिरहेका मान्छेलाई देखाएका छन् । धर्म, ऐननियम, राजनीतिक प्रवत्ति पनि चित्र छ । आजका मान्छे जुनसुकै भूगोलमा बसे पनि प्रविधि, धर्म, कानुनले बाँधिएको छ । ती सबै पक्षलाई राजनीतिले अगुवाइ गरेकाले सतहमा बस्ने सामान्यगर्व गर्नुपर्ने उनले सुनाए ।
‘सत्य’ सिरिजमा मान्छको जीवनचक्र देखाउने कोसिस गरेका छन् । ‘मन्त्र’ सिरिजमा भने उनले मानव भएर समाजमा बाँच्न चाहिने हरेक तत्त्वहरूलाई समावेश गरेका छन् । मुहारमा विभिन्न प्रकारमा हातहरू चित्रित भएको उनको चित्र निकै कलात्मक लाग्छ । एउटा हातमा भने सुकेको फूल देखाएका छन् । जसलाई उनी मान्छेको अन्त्यसम्म पनि कसै न कसैको साथ, सहयोग र कोही कसैसँग जोडिने, जोडिन आउने सम्बन्धका रूपमा व्याख्या गर्छन् । उनले टाउको बिनाको मानव आकृतिहरू बनाएका छन्, जसमा एउटामा घन बाहेक सबैमा किला ठोकिएको देखाएका छन् । यस मार्फत शिक्षा प्रणालीलाई व्यंग्य गरिएको उनले प्रस्ट्याए । घनलाई शिक्षक र किला अंकित बिम्बलाई उनले विद्यार्थीका रूपमा अर्थ्याएका छन् । सबै किलाहरू समान रूपमा दबिएका देखिँदैनन् । सबैलाई समान रूपमा शिक्षा र शिक्षण प्रणाली लागू गर्न सकिँदैन भन्ने तथ्य चित्रमा छ । प्रविधिसँगै दौडेको समाजलाई मानिसको अस्तित्व कालान्तरमा कस्तो होला भन्ने संकेत समेत उनले गरेका छन् । आफ्ना सिर्जनाहरूले समाजमा प्रश्न गर्ने वातावरण बनोस् भन्ने उनी चाहन्छन् । उनले भने, ‘यी सबै आर्टहरूले समाजका भावना समेटिऊन् र महसुस गरेर प्रश्न गर्ने वातावरण बनोस् भन्ने मेरो सोचाइ हो ।’
कलम र मसीको माध्यममा सिर्जना भएका छोराका कलाकृतिहरू अवलोकन गर्दै मुखियाले उत्कृष्ट रहेको धारणा राखे । उनले भने, ‘धेरै राम्रो काम गरेको छ । मेरो भन्दा राम्रा छन् । म त अझ यस्तो गर्न सक्दिनँ होला ।’ प्रदर्शनी जेठ १० सम्म जारी रहनेछ ।