वरिष्ठ चलचित्र निर्देशक, सस्कृतिविद एवं गीतकार चेतनकार्कीको ८५ औं जन्मजयन्ती अवसरमा ‘म चेतन’ गीतिएल्बमको लोकार्पण गरिएको छ । “वरिष्ठ गीतकार, चलचित्रकर्मी चेतन कार्की आजको दिनसम्म जीवित रहनु भएको भए चौरासी पूजागर्ने समय हुने थियो“ भनेर स्व. कार्कीलाई सम्झँदै हिजो २०७९ कार्तिक १७ गते उहाँका गीतहरूको एल्बम“म चेतन“को लोकार्पण गरियो । “म चेतन“ एल्बम एक समारोहमा वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापा, स्व. कार्कीकी धर्मपत्नी गङ्गा कार्की, सङ्गीतकार नारायण ओली, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, कलाकार मिथिला शर्मा, शीलाबहादुर मोक्तान, कुन्ती मोक्तान, रचना रिमाललगायतका व्यक्तित्वहरूले लोकार्पण गरेका थिए ।
एल्बमभित्रका सम्पूर्ण गीतहरू चेतनकार्कीद्वारा रचित, नारायण वलीद्वारा सङ्गीतबद्ध र स्वयं नारायण वलीलगायत दीप श्रेष्ठ, कुन्ती मोक्तान, अञ्जु पन्त, निशान भट्टराई, बानिका प्रधान, महेश सेवा, रचना रिमाल, प्रविन बेडवाल, अस्मिता अधिकारीद्वारा गाइएका छन् । कार्कीको ८४ औं जन्मजयन्तीको सन्दर्भ पारेर म्युजिक नेपालले उत्पादन र सार्वजनिक गरेको उक्त एल्बममा रहेका कर्णप्रिय गीतहरूको म्युजिक एरेन्ज- शीलाबहादुर मोक्तान, फणीन्द्र राई, गोपाल रसाइलीले गर्नुभएको हो । लोकार्पण पश्चात् धर्मपत्नी गङ्गा कार्की, वरिष्ठ साहित्यकार अभि सुवेदी, भैरवबहादुर थापा, मिथिला शर्माका भावपूर्ण मन्तव्यले वातावरण भावुक बनाएको थियो ।
काठमाडौँ पिङ्गलस्थानस्थित स्टूडियो थेटरमा आयोजित ’म चेतन’को उक्त लोकार्पण कार्यक्रममा मुरारिप्रसाद सिग्देल, गोविन्दगिरी प्रेरणा, दिनेश अधिकारी, राधेश्याम लेकाली, सुभाषचन्द्र ढुङ्गेल, श्रीपुरुष ढकाल, दिवाकर खड्का, रीतु कँडेल, मोहन निरौला, डा. भोला रिजाल, मनोज गुरुङ, पारस कार्की, पंकज कार्की, किशोर पहाडीलगायतका साहित्यकार, कलाकार तथा परिवार सदस्यहरूको भव्य उपस्थिति थियो । एल्बमभित्रका २ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरी प्रदर्शित गरिएको उक्त समारोहमा उपस्थित सबैलाई प्रमुखअतिथि बनाइएको थियो भने वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापाको सभापतित्व थियो ।