• २०८३ बैशाख २, बुधबार

मासिक कथावाचनमा सुनियो ‘गोठाले’को ‘औँठी’

काठमाडौं ।

नेपाली कथा साहित्यको पुनर्जागरण अभियानमा समर्पित समूहले चैतको अन्तिम शुक्रबार कथाकार गोविन्दबहादुर मल्ल ‘गोठाले’को स्मृतिमा उनको एक कथा वाचन गरेको छ । यसपटक कथाकार ‘गोठाले’को तस्बीरमा माल्यार्पण गर्दै उनको ‘औँठी’ शीर्षकको कथा वाचन गरियो । उक्त कथा शारदा मासिक पत्रिकाको वर्ष ९ संख्या ९ (वि.सं. १९९९ पुस)को अंकबाट वाचन गरिएको थियो । कथा साहित्यकार शुकदेव उपाध्यायले वाचन गरे ।

कथावाचनलाई अगाडि बढाउँदै योगेन्द्र तिमिल्सिनाले ‘मूल्यांकन’ शीर्षकमा प्रकाशित आफ्नो कथा वाचन गरे । त्यस्तै, कथाकार अमर प्रधानले ‘सौन्दर्य’ शीर्षकको कथा, विन्दु अधिकारी ढकालले ‘समयको छुरा’ शीर्षकको कथा वाचन गरे ।  कार्यक्रममा बैरागी जेठा, प्रकाशकुमार अर्याल, चोकबहादुर दाहाल, सुमन अर्याल लगायतले कथाहरूमाथि आफ्ना जिज्ञासा राखे ।

कथावाचनको प्रारम्भमा कथा पुनर्जागरण अभियानका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकास क्रममाथि प्रकाश पारे । कार्यक्रमको अन्त्यमा साहित्यकार चन्द्रप्रसाद भट्टराईले नेपाली कथाहरूको कालखण्ड छुट्याई वाचन गरिँदा तिनको विकासक्रमबारे सबैलाई ज्ञात हुने धारणा राखे ।

उनले हरेक महिना एक दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर आरम्भ गरिने कार्यक्रममा आजसम्म दिवंगत स्रष्टाहरू गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, रूपनारायण सिंह, विष्णुचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, युद्धप्रसाद मिश्र, मात्रिकाप्रसाद कोइराला, रुद्रराज पाण्डे, बोधविक्रम अधिकारी, शंकर लामिछाने, श्यामराजा, लक्ष्मीनन्दन शर्मा चालिसे, एम लक्ष्मी, केशवराज पिंडाली, तारिणीप्रसाद कोइराला लगायतका कथा वाचन गरिसकिएको जानकारी गराए ।